मेचीनगर, फागुन २१ । झापाको मेचीनगर नगरपालिकामा क्षयरोग बिरामीहरुलाई पोषण प्याकेज बितरण गर्न थालिएको छ ।

‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्य नारासहित मेचीनगर नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा अभियानअन्तर्गत सोमवारबाट पोषण प्याकेज वितरण कार्य शुरु गरिएको हो ।

नगरपालिका वडा नम्बर —१० का २२ जना क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज वितरण गरिएको हो । नगरको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले पोषण सामग्री प्रदान गरिन् । स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार चामल २५ केजी ‐एक बोरा), बदाम, दाल, सातु, एक÷ एक केजी, तेल एक लिटर, अण्डा एक क्यारेटसहित यातायात खर्चका रुपमा नगद चारसय रुपैयाँ प्रदान गरिएको हो ।

धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा केन्द्रका प्रमुख डाक्टर आशिष निरौला, वडा नम्बर —१० का वडा सदस्य सोमनाथ ओझालगायतले संयुक्तरुपमा पोषण सामग्री प्रदान गरेका थिए । स्वास्थ्य शाखाले नगरपालिका क्षेत्रमा क्षयरोगका बिरामी बढ्दै गएको जनाएको छ । नगर स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन सदिक्षा भट्टराईका अनुसार मेचीनगरमा २०८० साउनदेखि माघ मसान्तसम्म १ सय १३ जना क्षयरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक बर्ष २०८०÷०८१ को यो अवधिमा सबैभन्दा बढी मेचीनगर वडा नम्बर ६ मा २४ जना क्षयरोगी फेला परेका हुन् । गत आर्थिक बर्ष २०७९÷०८० मा नगरमा २०५ जना क्षयरोगी फेला परेकामध्ये जटिल प्रकृतिको क्षयरोगी ७ जना भेटिएको उनको भनाई छ ।

नगरको वडा नं. १५ मा १४ जना, वडा नं. १० मा १३ जना र वडा नं. ४ मा १२ जना क्षयरोगी फेला परेका छन । त्यस्तै वडा नं. १ मा ५ जना, वडा नं. २ मा ४ जना, वडा नं. ३ मा ३ जना, वडा नं. ५ मा ३ जना, वडा नं. ७ मा ६ जना, वडा नंं. ८ मा ५ जना क्षयरोगी भेटिएका छन भने वडा नं. ९ मा ९ जना, वडा नं. ११ मा ६ जना, वडा नं. १२ मा ५ जना, वडा नं. १३ मा २ जना र वडा नं. १४ मा २ जना क्षयरोगीलाई नगरको स्वास्थ्य शाखाको टिमले फेला पारेको फोकल पर्सन भट्टराईले जानकारी दिइन् ।

अहिले नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी गरिरहेकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताइन् । उनका अनुसार क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था रहेको छ । मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निःशुल्क गर्ने व्यवस्था मिलाएको सापकोटाले बताइन् ।

मेचीनगर नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका बनाउने अभियान थालिएको छ । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगर प्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम थालिएको छ ।कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्