झापा,फागुन २२ । झापाको कमल गाउँपालिकामा स्वाइन फिभरको प्रकोपका कारण बङ्गुर पालन घट्दै गएको छ । केही समयअघिसम्म सबैभन्दा आकर्षण बनेको बङ्गुर पालन व्यवसाय विभिन्न रोगको प्रकोपले अहिले घट्दो अवस्थामा रहेको जनाइएको छ ।

कमल गाउँपालिकाका साथै झापा जिल्लाभर नै बङ्गुर पालनबाट किसानहरू विस्थापित बन्दै गएका छन् । कमल गाउँपालिकाका पशु शाखाका प्रमुख दीपेन्द्र लामिछानेका अनुसार पछिल्लो समयमा विभिन्न रोगहरूका कारण किसानहरूले बङ्गुर पालन छाड्दै गएकाले खोरहरू रित्तिएका छन् ।

अफ्रिकन र एसियन गरी दुई प्रकारका भाइरसको सङ्क्रमण देखिएको छ । जसमध्ये अफ्रिकन खतरनाक छ । पालिकामा २२ हजार वयस्क बङ्गुर रहेकोमा अहिले यो घटेर आधा भएको अनुमान गरिएको उनले जनाए । कमलमा मात्र एक सय २७ वटा व्यावसायिक बङ्गुर फार्महरू दर्ता भएका छन् ।

यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका पशु चिकित्सक डा. रोशन दाहालका अनुसार बङ्गुरमा देखिने रोगका कारणले गर्दा बङ्गुर पालन क्षेत्रमा ठुलो समस्या परेको बताए । पछिल्लो समयमा भाइरसको सङ्क्रमण झन् बढ्दो अवस्थामा रहेको उनले बताए ।

आफैँ पनि यो भाइरस हराउन सक्ने भएकाले अहिले भाइरसको समस्याको विषयमा जाँच गर्न लागिएको समेत उनले जानकारी दिए । पुराना खोरहरूमा नयाँ बङ्गुर ल्याएर राख्दा पनि भाइरस सर्ने जोखिम धेरै रहेको उनले बताए । एकपटक रोग देखा परेको बङ्गुर फार्ममा लामो समयसम्म भाइरस रहेको हुनसक्ने पशु चिकित्सक दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्