लक्ष्मी उप्रेती,

मेचीनगर ।
घटनाः १

१४ फागुनमा झापाको कन्काई नगरपालिका—८ खाडीबस्तीस्थित घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे १ त ११५१ नम्बको ट्रयाक्टरले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १—०१—०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । घटनामा मोटरसाइकल चालक सोही ठाउँका ४५ वर्षका सागर मिश्रको मृत्यु भयो ।
घटनाः२

१९ फागुनमा साँझ ७ बजेतिर झापाको मेचीनगर नगरपालिका ५ स्थित घोडाजिनस्थित पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्बरको सेतो रंगको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँकी ५५ वर्षीया देवीमाया विकलाई ठक्कर दियो । मोटरसाइकलको ठक्करबाट घाइते विकको उपचारका क्रममा बिर्तामोडको बीएण्डसी अस्पतालमा ७ः३० बजे निधन भयो ।

घटनाः ३

२१ फागुनमा साँझ ६ बजेको समयमा झापा जिल्ला झापा गाउँपालिका ४ मंगलबारेस्थित हुलाकी राजमार्गमा शरणामतीबाट कुमरखोदतर्फ जादै गरेको मे ३ प ५९२९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोहि ठाउँका ५५ वर्षका शम्भु कार्कीलाई ठक्कर दियो । घाईते कार्कीलाई उपचारका लागि बिर्तामोडको एउटा निजी अस्पतालमा पुर्याईएको थियो । डाक्टरले अस्पताल पुर्याउनसाथ कार्कीलाई मृत घोषणा गरेका थिए ।

झापा जिल्लाको मुख्य सडकबाहेक ग्रामीण सडकमा हुने सवारी दुर्घटनाका केही प्रतिनिधि घटनामात्र हुन् यी तीनवटा घटना । घटना नम्बर २ मा विकसँगै ६ वर्षीया निशा विकसमेत घाइते छिन् । उनको उपचार भईरहेको छ । तीनवटै घटनामा संलग्न सवारी साधनसहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका मुख्य मार्गभन्दा ग्रामीण सडक (भित्री सडकखण्ड) मा बढी सवारी दुर्घटना हुने गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति पातलो हुने भएकाले पनि यस्ता क्षेत्रमा सवारी दुर्घटना हुने गरेको प्रहरीको अनुमान छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ महिनासम्म जिल्लामा २ सय ८२ वटा सवारी दुर्घटना भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीका अनुसार कुल दुर्घटना संख्याको ३५ प्रतिशत वा एकसय वटा दुर्घटना ग्रामीण सडकमा भएका छन् । चालु आर्थिक वर्षको सात महिनामा ४६ जनाको मृत्यु भएकोमा २० जनाको ग्रामीण सडकमा भएका सवारी दुर्घटनामा मृत्यु भएको वरिष्ठ प्रहरी नायव निरीक्षक सोडारीले जानकारी दिए । पछिल्लो समय सडक सञ्जाल गाउँगाउँमा पुगेको, अधिकांश कच्ची सडक पक्की र कालोपत्रे भएकाले पनि सवारी साधनको चाप बढेकाले दुर्घटना बढेको स्थानीय सञ्चारकर्मी डम्बर बरालको भनाई छ । भित्री खण्डका धेरै ठाउँका सडकहरु जीर्ण भएकाले पनि जोखिम हुने उनी बताउँछन् ।

प्रहरीको उपस्थिति नभएकै कारण त्यसको फाईदा लिन सवारी नियम उल्लंघनका घटनासमेत अहिले भित्री सडकखण्डमा बढ्ने गरेको प्रहरीको भनाई छ । सवारी दुर्घटना हुनुमा तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रुलगायतका कारण रहेको भन्दैं एकजना प्रहरी अधिकृतले भने—‘यीबाहेक अरू विविध कारणबाट पनि सवारी दुर्घटना हुन्छन् ,सडक दुर्घटना निर्मूल पार्न असम्भव छ । तर सवारी चलाउने बानीमा सुधार, ट्राफिक नियम पालना, सडक अवस्था राम्रो बनाउने तथा राज्यको नीतिगत तहबाट सुधार गरिने हो भने दुर्घटना जोखिम कम गर्न अवश्य सकिन्छ ।’

ग्रामीण सडक र साना बजारमा साइकल र पैदलयात्रीको उपस्थिति बाक्लै हुने भएपनि यी स्थानमा वरिपरि सहायक सडक नभएकाले पनि दुर्घटना जोखिम धेरै हुन्छ । ‘ग्रामीण सडकमा वरिपरि सहायक सडक नभएकाले साइकल तथा पैदलयात्री एउटै मार्गबाट हिँड्छन् र दुर्घटना जोखिम धेरै हुन्छ’ मेचीनगर ५ की जनप्रतिनिधि माया प्याकुरेल उप्रेतीले भनिन् । दुर्घटनाको प्रमुख कारण सवारी चाप बढ्नु भएको प्रहरीको भनाई छ । निर्माणजन्य सामग्री ओसारपसार गर्ने टिपर लगायत गाडीको खुला ट्रेलरबाट सामग्री उछिट्टिएर अरू गाडीमा क्षति हुने र दुर्घटना निम्तिएका छन् । ग्रामीण क्षेत्रमा घर निर्माणका सामग्री जताततै राख्ने , चौपायाहरु समेत बाटामै बाँध्ने, विस्कुनहरु सुकाउने तथा पराल समेत जथाभावी सुकाउने, छाडा चौपाया, सामुदायिक कुकुरहरुका कारण पनि ग्रामीण सडकमा दुर्घटना बढ्ने गरेको ज्यामिरगढी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु बस्नेतले बताइन् ।

ग्रामीण सडकका गल्लीका साँघुरा मोडमा हर्न बजाउन नपाउँदा विपरीत दिशाबाट गाडी आएको जानकारी हुँदैन र मोडमा ठोक्किने सम्भावना बढी हुने एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । आफू त्यस्ता मोडमा पुगेपछि आफ्नो छेउ च्यापेर गति कम गरेर विस्तारै चलाउनु पर्ने उनको सुझाव छ । ट्राफिक जरिवाना कम भएकाले पनि सवारी चालकले लेन अनुशासन पालना नगरेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्