मेचीनगर, फागुन २३ । मेचीनगर लेडी जेसीजले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार नगरका चारजना महिलालाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ ।

धुलावारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सविना बजगाई, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । उत्कृष्ट नारी सम्मान प्राप्त गर्नेहरुमा सावित्रा सापकोटा राई , गोमा बुढाथोकी, अनिता थापा र अमृता आङ्देम्बे छन् । नगरको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको हो । सापकोटा इष्ट होराइजन माविका प्रशासन प्रमुख, बुढाथोकी एभरेष्ट अंग्रेजी माविका सहायक प्रधानाध्यापक, थापा पशुपति अंग्रेजी माविका सञ्चालक र आङ्देम्बे होलीवेल माविका सञ्चालक हुन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा लामो समयदेखि शैक्षिक क्षेत्रमा आवद्ध भएर समाजमा शिक्षाको प्रकाश फैलाउँदैं राष्ट्रका कर्णधार र दक्ष जनशक्ति उत्पादनमा खेलेको अतुलनीय योगदानको उच्च सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको जनाईएको छ । सम्मानित व्यक्तित्वहरुको जीवनीबारे मेचीनगर लेडी जेसीजकी सचिव सुष्मा राजवंशीले जानकारी दिएकी थिइन् । कार्यक्रमको औचित्यमाथि अध्यक्ष पवित्रा विमली प्रसाईले प्रकाश पारेकी थिइन् ।

यस वर्षको ८ मार्च वा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुक्रबार ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने मुख्य नारासहित विविध कार्यक्रम गरी विश्वभर मनाईन्छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य बजगाई, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेतीले ८ मार्च वा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा क्लारा जेटकिनलाई स्मरण नगर्ने हो भने दिवस सार्थक नहुने बताए ।
क्लारा जेटकिनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवसको सुरूवात गरेकी थिइन् ।सन् १९०८ मा १५ हजार महिलाहरूले न्यूयोर्क शहरमा काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । एक वर्षपछि अमेरिकन समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउन थाल्यो । तर यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिनले आफ्नो विचार १९१० मा कोपेनहेगनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा दिएको बताईएको छ । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।सम्मेलनमा १७ देशका १०० महिला प्रतिनिधिहरू उपस्थित थिए सबैले क्लाराको सल्लाहलाई स्वागत गरे । यसपछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा मनाइएको थियो । यसको शताब्दी कार्यक्रम २०११ मा मनाइएको थियो ।

कार्यक्रममा नेकपा एमालेकी महिला नेतृ रेनुका डाँगी, आयोजक संस्थाकी संस्थापक सल्लाहकार लक्ष्मी राईलगायतले बोलेका थिए भने आयोजक संस्थाकी महासचिव रेजिना श्रेष्ठले सञ्चालन गरेकी थिइन् । मेचीनगर लेडी जेसिज सन् २०२४ की उपाध्यक्ष शर्मिला तिम्सिनाले आस्था वाचन गरेको कार्यक्रममा सहभागी सवैलाई कार्यकारिणी उपाध्यक्ष सकुन्तला ढकाल खतिवडाले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्