झापा,फागुन २४ । मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका कर्मचारी, क्रसरका सामानसहितको ट्रक र दुई वटा भ्यान नियन्त्रणमा लिएका थिए । मनमोहन गान्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रशासनलाई जिम्मा लगाएका थिए ।

स्थानीयले क्रसरका सामानसहितको ट्रक, कर्मचारी र दुई वटा भ्यानलाई पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० कार्यालय र सशस्त्र प्रहरीको कार्यालय अगाडि नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि दीपक थिङ तामाङले भोलि बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति गरेपछि कर्मचारी र दुई वटा भ्यान छोडिएको छ । ट्रक भने सशस्त्र प्रहरीको निगरानीमा रहेको छ । स्थानीयले बाटो चाँडो बन्नुपर्ने माग राख्दै बाटो नबनेसम्म सवारी साधन नछोड्न प्रशासनलाई दबाब दिएका छन् ।

यसअघि मङ्सिर १४ मा स्थानीयले पथरी शनिश्चरेको तीन स्थानमा ढाट लगाएर बन्द गरेका थिए । मनमोहन गन्धी मार्गको काम समयमै सम्पन्न नभएपछि स्थानीयले पटक–पटक दबाब दिँदै आएका छन् । कान्छाराम कन्स्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र बाटो निर्माण गर्ने भन्दै भत्काएको थियो । हाल उक्त बाटो खाल्डाखुल्डीको समस्याले यात्रा गर्न कठिन रहेको छ । उता लामो समयदेखि स्थानीयले खाल्डाखुल्डीको समस्या मात्र हैन बर्खामा हिलो र गर्मीमा धुलोको समस्यासमेत भोग्नुपरेको छ ।

चार वर्ष बित्दासमेत बाटो नबनेपछि पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ८ का नवीन कार्की र ९ का वीरबहादुर राईले बाटो चाँडो नबने बाटो बन्द गर्ने ध्यानाकर्षण पत्रसमेत सार्वजनिक गरेका थिए । मङ्सिर १४ मा पथरी शनिश्चरे वडा नम्बर ४, ८ र ९ का वडाध्यक्ष, ठेकेदार कम्पनीका प्रतिनिधि तामाङ, इलाका प्रहरी कार्यालय पथरी र स्थानीयले तीन घण्टा लामो छलफलपछि बाटो निर्माण काम सुरु गर्ने लिखित सम्झौतापछि बाटो खोलिएको थियो ।

वि.सं २०८० कात्तिकमा म्याद थप गरे पनि काम सुरु नगरेपछि मङ्सिर १४ मा स्थानीयले बाटो अवरुद्ध गरेर सडक आन्दोलनमा उत्रिएका थिए । तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कान्छाराम कन्स्ट्रक्सनले कामको जिम्मा लिएको थियो । एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले सरकारले भुक्तानी नदिएका कारण निर्माण अघि बढ्न नसकेको बताउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्