भद्रपुर,फागुन २४ । प्रहरी कल्याणकारी कोषको १७ अर्बभन्दा बढी रकममध्ये झण्डै १३ अर्ब हिनामिना भएको भन्दै नेपाल पूर्वप्रहरी संगठनले देशका ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुलाई ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रीय निर्देशनबमोजिम संगठन झापाले पनि जिल्ला प्रहरी कार्यालय झापालाई बिहीवार ज्ञापनपत्र बुझाएको हो ।
केन्द्रीय सदस्य मदनगोपाल सुब्बा र झापा अध्यक्ष खड्गबहादुर खड्काको नेतृत्वमा जिल्लाभरिका पूर्वप्रहरी संगठन सदस्यहरुको टोलीले प्रहरी निरीक्षक यशोदा घलेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा २०४९ देखि २०६९ भदौसम्मको कल्याण कोषको आय व्यय संगठनका पदाधिकारीको रोहबरमा छानविन गर्न समिति गठन गर्नुपर्ने, कल्याणकारी कोषको रकम ४० प्रतिशत बहालवाला प्रहरीको लागि ,४० प्रतिशत रकम पूर्वप्रहरीका लागि र २० प्रतिशत रकम आयमुलक कार्यमा खर्च गर्नुपर्नेलगायतका विभिन्न ६ बुँदे माग गरिएको छ ।

विगत ३० बर्षदेखि अहिलेसम्म १७ अर्बभन्दा बढी रकम कोषमा रहनु पर्नेमा केवल ४ अर्ब मात्र रहेको र बाँकी रकम हिनामिना भएको पूर्वप्रहरी संगठनले दावी गरेको छ । माग पुरा नगरी आलटाल गरेमा आन्दोलनसहित न्यायिक निकायसम्म जाने संगठनले चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्