झापा,फागुन २६ । नयाँ सत्ता गठबन्धन निर्माण भएसंगै प्रदेश सरकारहरु धमाधम परिवर्तन भइरहेका बेला कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सरकार नढल्ने दावी गरेका छन् ।

मदरसा तालिमुल कुरान बिर्तामोड ३ बिर्ताबजारको भवन आज बिहान शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले त्यस्तो दावी गरेका हुन् । उनले ढल्दाखेरि सरकार आफै ढल्ने हो भन्दै कसैले ढाल्न नसक्ने दावी गरे ।

‘ पटुवाको सन्ठीको घोचाले नरिवल झर्दैन ’ उनले भने, ‘सन्ठीले नरिवल घोचेजस्तो कसैले चाहदैमा सरकार ढल्दैन ।’ संविधानको धारा १६८ को ५ अनुसार बनेको सरकार भएकोले यसले अंकगणित नहेर्ने मुख्यमन्त्री कार्कीको दावी छ ।

मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिइसकेका कारण २ वर्षभित्र अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै त्यसपछि पनि आफ्नो सरकार हटाउन खोजे संसद नै विघटन गर्ने संकेत गरेका हुन् ।

कांग्रेसभित्र विद्रोह गरेका उनले एमालेको समर्थनमा मुख्यमन्त्री पाएका थिए । गत असोज २७ गते कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर आफूलाई मुख्यमन्त्री घोषणा गर्न लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्