बिर्तामोड, फागुन २६ । झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले आदिवासी सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

आगामी शैक्षिक सत्रबाट आदिवासीतर्फ सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम ल्याउन लागेको निर्देशक सन्जोग खरेलले बताए । ती समुदायका विद्यार्थीलाई जेहेन्दार र खेलकुद विधामा छात्रवृत्ति दिइने छ ।

छात्रवृत्तिमा आदिवासी विद्यार्थीतर्फ दुई जनालाई शतप्रतिशत र अन्य २ जनालाई पचास प्रतिशत छुट दिइने खरेलले जानकारी दिए । २०७३ सालमा स्थापित यस आदर्श स्कुलले कक्षा ११ र १२ मा व्यवस्थापनतर्फ होटेल व्यवस्थापन र बिजनेस स्टडिज विषय अध्यापन गरी जेहेन्दार विद्यार्थी उत्पादन गर्दै आइरहेको छ ।

यस आदर्श स्कुलले सुरुवातमा दुई वटा कक्षामा ८० जना विद्यार्थीबाट अध्यापन थालेको थियो । हाल कक्षा ११ र १२ मा ३८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । होटेल व्यवस्थापनको अत्याधुनिक प्राक्टिकल ल्याबबाट अध्यापन गराउने आदर्शमा अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, विज्ञहरूबाट विशेष सिकाइ तथा छात्रछात्रातर्फ भलिबल, क्रिकेट तथा फुटबल खेलाडीसमेत उत्पादन गर्दै आएको छ ।

आफ्ना विद्यार्थीहरूले हिसान, प्याव्सन, राष्ट्रपति कपसमेत जित्दै आएको विद्यालयले जनाएको छ । पढाइतर्फ विषयगत विज्ञ र युवा उमेरका शिक्षकहरू रहेको यस आदर्श स्कुलले विद्यार्थीहरूलाई चौतर्फी विकासमा सहयोग पुर्याउँदै आएको निर्देशक खरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्