झापा, फागुन २६ । ऐतिहासिक र धार्मिक महत्वको हुँदाहुँदै संरक्षण र संवर्द्धन हुन नसकिरहेको बिर्तामोड १० स्थित तेलगानी पोखरीको विकासका लागि नेपाली सेनाले श्रमदान गरेको छ ।

नेपाली सेनाको चारआली व्यारेकस्थित अरिदमन गणले तेलगानी पोखरीमा राधाकृष्ण मन्दिर , सत्सङ्ग भवन र शौचालय निर्माण गरिदिएको हो । आज एक कार्यक्रमका बीच ती संरचनाको उद्घाटन गरी मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र श्री नं.२१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ती संरचना निर्माण गर्नका लागि सेनाले गत भदौ २० गतेबाट श्रमदान थालेको थियो ।प्रत्येक दिन १५ जनाका दरले श्रमदान गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए । उनले ५ लाख रुपैयाँको बजेटले १५ लाख बराबरको काम गरिएको जानकारी दिए ।

प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्ग निर्देशन–२०७८ बमोजिम नेपाली सेनाको शिघ्र प्रभाव योजना कार्यक्रमअन्तर्गत तेलगानी पोखरी परिसरमा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवनको स्तरोन्नति, मन्दिर परिसर सम्याउने तथा शौचालय भवन निर्माण कार्य गरिएको प्रमुख सेनानी बस्न्यातले बताए ।यसअघि गत वर्ष अरिदमन गणले सोही पोखरीमा रहेको सिंहबाहिनी दुर्गा मन्दिरको स्तरोन्नति, डिप वोरिङ्गमा पाइप लाईनको विस्तार, जमिन सम्याउने र शौचालय निर्माणका कार्यहरु गरेको थियो ।

गणको सहयोगले ऐतिहासिक महत्व बोकेको तेलगानी पोखरीमा आन्तरिक पर्यटनको प्रवर्द्धन हुनुको साथै स्थानीय तथा भक्तजनहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएको छ । बाहिनीपति सहायक रथी थापाले यस किसिमका कार्यहरुले ऐतिहासिक महत्वका स्थलहरुको जगेर्ना हुने, आम जनचासोका पवित्र स्थलहरुको महत्व बढ्दै जाने र नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा पनि स्थानीयहरुको आवश्यकतालाई मध्यनजर गरी कार्यगत एकता गर्दै अगाडि बढ्ने बताए । प्रमुख सेनानी बस्न्यातले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर उपप्रमुख संग्रौला, बिर्तामोड वडा नं.१० का वडा अध्यक्ष दुर्योधन गुरुङ र तेलकानी पोखरी संरक्षण समितिका अध्यक्ष महेन्द्र शिवाकोटी , सचिव चेतानन्द निरौलालगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ (पि.एच.डि) को परिकल्पना, २१ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी थापाको अवधारणा र अरिदमन गणका गणपति बस्न्यातको पहलमा भएको जनाइएको छ । पौराणिक कथन एवं किम्बदन्ती अनुसार द्वापर युगमा विराट राजाले गाईवस्तुलाई पानी खुवाउन एकै रात तेलगानी , विराटपोखरीसहित सात वटा पोखरी निर्माण गर्न लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्