बिर्तामोड, फागुन २६ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिर्तामोड–३ मा मदरसा तालिमुल कुरानको भवन शिलान्यास गरेका छन् ।

कोशी प्रदेश सरकारको ४० लाख र ८ लाखको श्रमदान गरी कुल ४८ लाखको लागतमा निर्माण हुने ४ कोठे भवनको मुख्यमन्त्री कार्कीले शनिवार शिलान्यास गरेका हुन् । मदरसाको लागि ४ कठ्ठा १८ धुरको जग्गा घेरावारा गरिएको छ । सोही जग्गामा भवन निर्माण भइरहेको हो । त्यस जग्गा खरिद गर्नका लागि अहिलेसम्म ६६ लाख ९० हजार रुपैयाँ तिरिसकेको र अझै ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको मदरसाका अध्यक्ष अफ्रोज खानले बताए । उनले आर्थिक सहयोग संकलन गरेरै सो रकम जुटाइएको र भवन पनि त्यसरी नै निर्माण हुने बिश्वास व्यक्त गरे । कक्षा ६ सम्म उर्दु र अरविकसहित अंग्रेजी माध्यममा पठनपाठन भइरहेको सो मदरसामा २१० जना विद्यार्थी अध्ययनरत रहेका छन् । मदरसाको आफ्नै भवन नहुँदा अहिले मस्जिदको भवनमा मदरसा संचालन भइरहेको छ ।

मदरसा तालिमुल कुरानका अध्यक्ष अफ्रोज खानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की , बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मदरसा तालिमुल कुरानकी प्रिन्सिपल अन्जुम खातुनले स्वागत गरेको कार्यक्रमको सञ्चालन तेन्जिमा खातुनले गरेकी थिइन् ।

शिलान्यास कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मा,५ का वडाध्यक्ष रोहित प्रसाई, ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी तथा खानेपानीका सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, माओवादी केन्द्रका जगन्नाथ भट्टराईलगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्