झापा,फागुन २८ । मोरङको बेलबारी नगरपालिका–२ रमिते डाँडास्थित एउटा गोठमा आइतबार राति आगलागी भएको छ।
प्रहरीका अनुसार पदमबहादुर खड्काको कर्कट पाताको छानो र इँटाको गारो भएको गोठमा राति ११ः५० बजेतिर आगलागी भएको हो। आगलागीमा परेर गोठ पूर्णरूपमा ध्वस्त भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
उनका अनुसार आगोले जलेर ५ वटा खसी मरेका छन्। गोठभित्र राखिएको ७० मन धान जलेको उनले बताए। साथै, घाँस काट्ने मेसिन र पानी तान्ने मोटर समेत जलेको जानकारी कार्कीले दिए। उनका अनुसार आगलागीमा १० लाख रूपैयाँ बराबरको क्षति भएको छ।
गोठमा आगो लागेको देखेपछि पदमकी बुहारी उमादेवी खड्का बेहोस भएर ढलेकी थिइन्। प्रहरीका अनुसार उमादेवीलाई उपचारका लागि सुकुना सामुदायिक अस्पताल विराटचोकमा भर्ना गरिएको छ। अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी र स्थानीय तथा बेलबारी, सुन्दरहरैँचा एवं कानेपोखरीबाट पुगेका दमकलको सहयोगमा लगभग १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्