झापा,फागुन २९ । आइतवार दिउँसो हल्दिवारी १ काजली चोकस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा घाइते भएका चारजनामध्ये एकजनाको मृत्यु भएको छ ।

आइतवार दिउँसो ४.४५ बजेको समयमा हल्दिवारी १ काजली चोकस्थित भित्री सडकखण्डमा बिर्तामोडबाट जलथलतर्फ जाँदै गरेको मे ८ प ८१२ नं. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे १० प ६५१५ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चार जना घाइते भएका थिए । घाइतेमध्ये मे ८ प ८१२ नं. को मोटरसाइकल चालक कचनकवल ३ बस्ने २२ वर्षीय भवानीशंकर खतिवडा रोशनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो । बीएण्डसी हस्पिटलको सघन कक्षमा उपचार भइरहेका खतिवडाको हिजै बेलुकी मृत्युु भईसकेको भएपनि अस्पतालले आजमात्र मृत्यु भएको घोषणा गरेको जनाइएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने २१ वर्षीय शिवुलाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनामा मे १० प ६५१५ नम्बरको मोटरसाइकल चालक कचनकवल– १ बस्ने १९ वर्षीय सुजन तामाङको टाउको ,अनुहार र दाहिने खुट्टामा चोट लागेको थियोे । उनको अवस्था अहिले मध्यम रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार गौरादह– १ बस्ने १८ वर्षीय पुकार कटुवालको दाहिने हातमा चोट लागेको थियोे। उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्