क्षतिपूर्तिका लागि पीडितहरु नगरपालिकामा,२ सय ६३ वटा कुकुरको बन्ध्याकरण

लक्ष्मी उप्रेती,

मेचीनगर । झापाको मेचीनगरमा स्थानीयवासीका बाख्रामाथि सामुदायिक कुकुरले सामूहिक आक्रमण गर्दै बाख्रा मार्ने र घाईते बनाउन थालेपछि स्थानीयवासी आर्थिक क्षति बेहोर्न मात्र होइन, दैनिकजसो कुकुर आतंक र हैरान खेप्न समेत बाध्य छन् ।

नगरपालिकाको विभिन्न वडाको ग्रामीणक्षेत्रमा सामुदायिक कुकुरको आतंक बढेको हो । कुकुरले चौपाया र स–साना बालबालिकाहरुलाई निशाना बनाउने गरेको मेचीनगर— ६ का हरेराम थापाले बताए ।

स्थानीय दिनेश उप्रेतीले पालेका बाख्रामाथि पाँच–सात वटाको संख्यामा आएका कुकुरको समूहले घेरा हालेर आक्रमण मात्र गरेनन्, दुईवटा बाख्रालाई लछारपछार गरेर टुक्राटुक्रा पारेर खाएका छन् भने स–साना पाठापाठीलाई समेत टोकेर घाईते बनाएका छन् । एक साताअघि उनकै एउटा बाख्रालाई पनि यसैगरी कुकुरले आक्रमण गरी मारेको थियो । ‘ १५ दिनको बीचमा कुकुरले तीनवटा माउँ बाख्रा मारे’ उनले दुखेसो पोख्दैं भने,‘ करिब १५ देखि २० हजार रुपैयाँ क्षति भएको छ ।’

आफ्नै घर छेउछाउ बाँधिरहेका बाख्रामाथि कोही नभएको मौका पारी सामुदायिक कुकुरले घेरा हालेर आक्रमण गर्ने गरेको मेचीनगर —१४ का रामलक्ष्मण कार्कीको भनाइ छ । कुनै कुनै कुकुरले त बाख्राको खोरमै पसेर आक्रमण गरौं जसो गर्छन् । सोही वडाका रामकुमार बुढाथोकीको २ वटा खसी र एउटा माउँ बाख्रासमेत कुकुरले मारेको थियो । बाख्रापालन गरेर जीविकोपार्जन गरिरहेका कृषकहरुलाई त सामुदायिक कुकुरले झन् समस्यामा पारेका छन् । मेचीनगरका विभिन्न वडाका ग्रामीण क्षेत्रमा बिगतका महिनादेखि शृंखलाबद्ध रुपमा कुकुरको आक्रमण जारी रहेको मेचीनगर ६ की भगवती कार्कीको भनाई छ ।

शृंखलाबद्ध रुपमा कुकुरले सामूहिक रुपमा पशु चौपायामाथि आक्रमण गर्न थालेपछि कुकुरबाट पशु कसरी जोगाउने र मान्छेसमेत कसरी जोगिने भन्ने चिन्ता अहिले मेचीनगरवासीलाई छ । कुकुरको आक्रमणका कारण पशुपालनमा समेत समस्या भएको मेचीनगरकी इन्दिरा कार्कीले बताइन् । यसअघि पनि मेचीनगर— ६ की एक महिलाका बाख्रालाई सामुदायिक कुकुरको समूहले आक्रमण गरेको थियो । कुकुर आक्रमणका कारण ३ वटा माउँ बाख्रा मरेपछि उनले मेचीनगर नगरपालिकामा थोरै भएपनि आर्थिक सहायताका लागि निवेदन दिएको बताइन् । ‘ कुकुरकै कारण करिब २० देखि २५ हजार मूल्यका बाख्रा मरे’ उनले भनिन् ,‘ स्थानीय सरकारसँग हारगुहार गरेको छु हेरौ थोरै भएपनि राहत मिल्ने आश्वासन पाएको छु खुशी लागेको छ ।’

सामुदायिक कुकुरका कारण चौपायामा मात्र क्षति भएको होइन, सवारी साधन चलाउँदा दुर्घटनासमेत बढेको मेचीनगर— ४ का प्रविन बराल बताउँछन् । सामुदायिक कुकुर नियन्त्रणमा मेचीनगर नगरपालिकाले अभियान सञ्चालन गरेपनि कुकुर नियन्त्रणभन्दा बाहिर गएको यी माथिका घटनाले देखाएको मेचीनगर ७ का इन्दिलाल चौधरीको भनाई छ । नगरपालिका क्षेत्रमा सामुदायिक कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको चौधरीको भनाई छ । नगरपालिकाले ‘भुस्याहा कुकुर’ नियन्त्रण गरिदिनुपर्ने उनको भनाइ छ ।

छाडा कुकुरले बालबालिका तथा साना सवारी चालकलाई हैरान पारेपछि यस्ता कुकुर नियन्त्रण गर्न दबाब सुरु गर्नुपर्ने स्थानीयवासीको भनाई छ । सामुदायिक कुकुरका कारण आतंकित भएको भन्दै स्थानीयवासीले सम्बन्धित वडाका जनप्रतिनिधिहरुसँग यस्ता कुकुर नियन्त्रण गर्न माग गरेका छन् । मोटरसाइकल, स्कुटर वा साइकलमा यात्रा गर्नेलाई पनि कुकुरले झम्टिने गरेकाले दिनहुँ सानो ठूलो दुर्घटना भइरहेको छ । केही दिन अघिमात्र कुकुरकै कारण मेचीनगर—१२ सहरेडाँगीका तीर्थ घिमिरे पूर्वपश्चिम लोकमार्गको बिर्तामोडस्थित बुट्टावारीमा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । मेचीनगर—४ को बाहुनडाँगीबाट काँकरभिट्टातर्फ आउँदै गर्दा एकजना सञ्चारकर्मी पनि कुकुरकै कारण दुर्घटना परेका थिए ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी अहिले विभिन्न वडाको सिफारिस लिएर कुकुरले चौपायामा पुर्याएको क्षतिका लागि धेरथोर राहतका लागि स्थानीयवासी नगरपालिका आउने गरेको बताए । दैनिकजसो २ देखि ५ वटासम्म यस्ता राहतका लागि निवेदन आउने गरेका छन् । नगरपालिकाले उनीहरुको गुनासो र पीडालाई सम्बोधन गर्दै क्षतिपूर्ति नभएर धेरथोर राहत रकम उपलब्ध गराउने गरेको छ ।यस्ता कुकुर नियन्त्रणका लागि पालिकाले केही दिन अघिमात्र सामुदायिक कुकुरको बन्ध्याकरण अभियान चलाएको नगर प्रमुख बुढाथोकीको भनाई छ । सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । नगरपालिकाले यसअघि यही अभियान चलाएको थियो । भर्खरमात्र मेचीनगर नगरपालिकाले धुलावारी माध्यमिक विद्यालय मेचीनगर —१० को प्राविधिक सहयोगमा तीनदिने शिविर सञ्चालन गरी सामुदायिक र घरपालुवा गरी कुल २ सय ६३ वटा कुकुरको स्थायी बन्ध्याकरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिए । झापाका सबै पालिकाले यसलाई साझा समस्या बनाएर समाधानमा अघि बढ्नुपर्ने सहायक प्रधानाध्यापक चौलागाईँको भनाई छ ।

खासगरी, सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको धुलावारी मावि पशु संकाय विभाग प्रमुख डाक्टर सीताराम यादवले बताए । शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको धुलावारी, इटाभट्टा र काँकरभिट्टा, चारआली धाइजनलगायतका टोल–टोलमा पुगेर कुकुरलाई बन्ध्याकरणसहित उपचार गरेपश्चात् जुन ठाउँबाट नियन्त्रण लिइएको थियो, त्यसको भोलिपल्ट सोही स्थानमै पुर्याएर छाड्ने गरेको डाक्टर यादवको भनाइ छ । डा. सुभाष चौधरी, पशु कार्यालय झापाका डा. राघवेन्द्र तिवारी, डा. रोशन दाहाल, डा. महेन्द्रप्रसाद मण्डल, डा.आशिष लिम्बू, डा. सन्तोष रायलगायत अन्य प्राविधिकहरुको टोलीले शिविरमा प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्