झापा,फागुन ३० । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनल खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनले पराजित भएको छ।

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको नेपालको उपाधि चुम्ने लक्ष्यमा पीएनजी बाधक बन्यो।लिग चरणमा नेपालसँग ८५ रनले पराजित भएको पीएनजी फाइनलमा नेपाललाई बदला लिँदै च्याम्पियन बनेको हो।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा जितका लागि पीएनजीले दिएको एक सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो।नेपालका सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।ओपनर कुशल भुर्तेल पाँच र विनोद भण्डारी चार रनमा आउट भएपछि नेपाल दबाबमा परेका थिए ।

त्यसपछि कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दै पेभेलियन फर्किए ।गुशलन झा ६ रनमा आउट भए।

त्यसपछि सन्दीप जोराले १७ र आरिफ शेखले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्न बलिङमा पीएनजीका कवुअ मोरेअ, सेमो कमेरा, सेसे बाउ र चाँद सोपरले दुई दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो।पीएनजीका लागि ओपनर टोनी उराले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै हिला भारेले १८, हिरी हिरीले १५, किपलिन डोरिगाले १४ र चाँद सोपरले १३ तथा अलि नाओले अविजित ३० रन बनाए ।

बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन तीन विकेट लिए ।करण केसी र गुलशन झाले एक एक विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्