झापा,फागुन ३० । नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ गरेको छ । अभियानको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले शुभारम्भ गरे ।
केन्द्रीय प्रहरी प्रवक्ता ढकालले सामाजिक सञ्जाल सचेत भइ प्रयोग नगर्दा साइबर अपराधका घटना बढेको भन्दै प्रविधिको सही उपयोग गर्न आग्रह गर्ने उद्देश्यले भोजपुरदेखि अभियान शुभारम्भ गरिएको बताए ।
अभियानअन्तर्गत आगामी तीन महिनासम्म विद्यार्थी, नागरिक, शिक्षकलाई सामाजिक सञ्जालको दुरुपयोगबाट हुनेसक्ने साइबर अपराधबारे जानकारी र सचेतना गराइने छ । “गाउँगाउँमा सचेतना जगाउन भोजपुरबाट जिल्लाव्यापी अभियान सुरु भएको छ, क्रमिकरुपमा यो अभियान अन्य जिल्लामा पनि बिस्तार हुनेछ”, उनले भने ।
सामाजिक सञ्चालको सही प्रयोग हुनसके अपराधिक गतिविधि कम गर्नमा मद्दत मिल्ने उनको भनाइ थियो । भोजपुरका नौ वटै स्थानीय तहका ८२ स्थानमा १० हजार नागरिकलाई अभियानमार्फत यसबारे जानकारी गराइनेछ ।
अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविबाट अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमख प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । उनले प्रविधिको विकाससँगै साइबर अपराध बढेकाले सचेतना अभियान सुरु गरिएको बताए ।
साइबर अपराध कम गर्न लागि सबै सचेत रहन जरुरी रहेको कोशी प्रदेश प्रहरी प्रमुख खापुङले बताए । प्रहरीले सुरु गरेको अभियानले सामाजिक सञ्चाल दुरुपयोग कम गर्न पनि सहयोग प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे । जिल्लाको अरुण गाउँपालिकाबाट सुरु अभियान सम्बन्धित क्षेत्रका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतमार्फत सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्