झापा,चैत १ । टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर गरेपछि अमेरिकी तल्लो संसद् हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्ने, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।

तल्लो सदनबाट दुई तिहाइ बहुमतले यो विधेयक पारित भएको छ । तर यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने-नहुनेमा शङ्का छ ।

यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन ।

तर, अहिले भने ट्रम्पले आफ्नै निर्णय विपरीत टिकटक प्रतिबन्धको विरोध गरेका छन् ।

टिकटकले भने अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्