झापा,चैत १ । झापाका १५ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले जिल्लामा सूर्ती र सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको संयोजनमा हिजो भद्रपुरमा सम्पन्न सूर्ती तथा सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । झापाको कन्काई नगरपालिकाले यसै आर्थिक वर्षदेखि नगरपालिका क्षेत्रभित्र सूर्ती र सूर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ । त्यस्तै बिर्तामोड नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा सूर्ती तथा सूर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कुरा उल्लेख गरेको छ । त्यस्तै गौरीगञ्ज गाउँपालिकाले लागूऔषध , मदिरा तथा सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि सात दिने अभियान संचालन गरेको छ । जिल्लाका अन्य पालिकाहरु पनि सूर्ती र सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सकारात्मक देखिएका हुन् ।

देशका वालिङ नगरपालिका , निजगढ नगरपालिका , लेटाङ नगरपालिका , काठमाडौ महानगरपालिका , ललितपुर महानगरपालिका , तिलोतमा नगरपालिका , भरतपुर महानगरपालिकाले सूर्ती र सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए । उनले सूर्ती र सूर्तीजन्य पदार्थको प्रतिबन्ध एकैचोटी संभव नभएपनि स्थानीय तहले नै त्यसको लागि पहल गर्नुपर्ने बताए । उनले स्वास्थ्य शाखा प्रमुखहरुलाई सूर्तीजन्य पदार्थलाई हतियारको रुपमा बनाउन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्यका कानुन शाखाका प्रमुख गोपीकृष्ण रेग्मीले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि २०६८ मा बनेको ऐनबाट धेरै काम भएको बताउँदै आबश्यकता हेरेर स्थानीय तहले आफ्नै कानुन बनाउन सक्ने जानकारी दिए । सबै लागेमात्र ऐनको उद्धेश्य पूरा हुनसक्ने उनको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रेग्मी र मिश्रले सहजीकरण गरेको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाँई ,स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी , भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला , पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई , गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र , कन्काई नगरपालिकाका खगेन्द्र दंगाललगायतले बोलेका थिए । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्