झापा, चैत ३ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको अध्यक्षमा निरज ओली निर्वाचित भएका छन् ।

खगेन्द्र महतोलाई एक मतले पराजित गरी ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ३ मत ल्याउँदा महतोले २ मत पाएका छन् । नेकपा एमालेका आधिकारिक उम्मेदवार महतोलाई विद्रोही उम्मेदवार ओलीले हराएका हुन् । ओलीलाई नेपाली कांग्रेस समर्थक मतदाताहरुले सहयोग गरेका थिए । महतोलाई एमाले समर्थक पार्वता बजगाई र पूर्ण खड्काले मत दिएका थिए भने ओलीलाई कांग्रेस समर्थक इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र वडाध्यक्ष रोहित प्रसाईले मत दिएर जिताएको जनाइएको छ । एक मत बदर र एउटा मतपत्र खाली रहेको थियो ।

विवाद भएर चारपटक स्थगित भएको निर्वाचन आज सम्पन्न भएपछि नयाँ नेतृत्व चयन भएको हो । गत फागुन २० गते कृषि बजारका व्यवसायीहरुको निर्वाचन भएको थियो । त्यसको भोलिपल्ट किसानहरुको निर्वाचन तोकिएको थियो । तर विवादका कारण चार पटक निर्वाचन स्थगित भएर आज निर्वाचन सम्पन्न भएको हो । आज सम्पन्न किसानहरुको निर्वाचनबाट पार्वता बजगाई बुद्धशान्ति ३० , पूर्ण खड्का मेचीनगर २९ र निरज ओली बिर्तामोड २३ मतसहित निर्वाचित भएका थिए ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । बिर्तामोड , अर्जुनधारा , कन्काई , मेचीनगर , भद्रपुर नगरपालिका तथा बाह्रदशी ,हल्दिवारी र बुद्धशान्ति गाउँपालिकाका नेतृत्वहरुले पाँच–पाँच जनाको दरले किसान प्रतिनिधि पठाएका थिए । तिनै ४० जना किसान प्रतिनिधिहरुको निर्वाचन भएको थियो । निर्वाचनमा ३९ जनाले भाग लिएका थिए ।

यसअघि माघ २० गते भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए ।निर्वाचित हुनेहरुमा इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् । आज निर्वाचित भएका किसान प्रतिनिधि र माघ २० गते निर्वाचित व्यवसायी प्रतिनिधिहरुले अध्यक्ष चयन गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्