लक्ष्मी उप्रेती
मेचीनगर, चैत ३ । पछिल्लो समय निकै ठुलो समस्याका रुपमा रहेको लागूऔषध ओसार पसार नियन्त्रणमा सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको र प्रहरीको एक्लो प्रयासले मात्र यसको रोकथाम र नियन्त्रण सम्भव नहुने देखिएको छ ।


लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्न स्थानीय तहको योगदान महत्वपूर्ण हुने र त्यसपछि उसको परिवार, विद्यार्थी, राजनीतिक दल, सामाजिक संघ संस्था, शिक्षक, समाजका अगुवाहरुको पनि भूमिका आबश्यक देखिएको हो ।

‘प्रहरी त कानून कार्यान्वयन गराउने एउटा अंगमात्र हो’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले भने,‘दुईचार जना कारोवारी र सयौं सेवनकर्तालाई पक्राउ गर्नु नै यो समस्याको दीर्घकालीन समाधान होईन ।’प्रहरीले त कानूनमा उल्लेखित कामहरु मात्र गर्ने , कानूनको पालना नगर्ने वा गैरकानूनीरुपमा काम गर्नेलाई नियन्त्रणमा लिन्छ र कानूनबमोजिम कारवाही गर्ने मात्र भएकाले प्रहरीले एक्लै यो समस्यालाई शुन्यमा झार्न नसक्ने प्रहरी उपरीक्षक केसीको भनाई छ ।
झापा प्रहरीको अभिलेखअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन महिनाको अन्त्य वा आठ महिनामा जिल्लाका अलग अलग स्थानबाट १६ केजी ५ सय ४७ ग्राम ७ सय ८० मिलिग्राम गाँजा, १ केजी ३ सय ५९ ग्राम १ सय ९० मिलिग्राम ब्राउनसुगरसहित थुप्रै प्रकारका लागूऔषध प्रहरीले बरामद गरिसकेको छ । यसबाट जिल्लामा लागूऔषधको समस्या कल्पना गरेभन्दा भयावह रहेको प्रहरीको भनाई छ ।

सबैको घरमा प्रहरी पुग्न नसक्ने भएकाले पनि लागूऔषध दुर्व्यसन नियन्त्रणमा घरपरिवार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने प्रहरी उपरीक्षक केसीले बताए । दुर्व्यसनी नियन्त्रणका लागि त घरपरिवार र अभिभावकको झन् ठुलो र महत्वपूर्ण भूमिका रहने भन्दैं उनले कतिपय अभिभावकले आफ्ना छोराछोरीले गरेको गल्ती लुकाउन खोज्दा समस्या हुने स्पष्ट पारे । ‘प्रहरीले प्रमाण फेला पार्छ, तर अभिभावकहरु आएर यो त निर्दाेष छ, यस्तो कहिले पनि गर्दैन भन्दैं आफ्ना सन्तानको गल्ती ढाकछोप गरिदिनुहुन्छ’ प्रहरी उपरीक्षक केसीले भने,‘विश्वव्यापी रुपमा जटिल अवस्थामा रहेको लागूऔषध दुर्व्यसनीका कारण एउटा घर, समाज र राज्यले ऊर्जाशील युवा जनशक्ति गुमाउने खतरा बढेको छ।’

यसकारण पनि यसको नियन्त्रणका लागि सबैको सहकार्य जरुरी रहेको उनले आवश्यकता औल्याए । प्रहरी उपरीक्षक केसीले यसैका लागि जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध दुर्व्यसनविरुद्धको सचेतना अभियान शुभारम्भ गरेको स्पष्ट पारे । यो दुर्व्यसनमा हुनेखाने र हुँदाखाने दुवै वर्ग लागेको प्रहरीको अनुसन्धानले देखाएको छ । ७० देखि ८५ प्रतिशत दुर्व्यसनी उच्च घराना र हुनेखाने नै रहेको एकजना प्रहरी अनुसन्धान अधिकृतले बताए । पछिल्लो समय झापाबाट इन्जेक्सनको माध्यमबाट प्रयोग गर्ने लागूऔषधभन्दा धुलो वा खाने पदार्थको कारोवार बढी हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गरेको छ । अभिलेखअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन महिनाको अन्त्य वा आठ महिनामा जिल्लाका अलग अलग स्थानबाट डाइजिपाम १५, फेनारगन १४ र लुपिजेसिक १४ एम्पुल बरामद भएको छ । अघिल्ला बर्षहरुभन्दा यो वर्ष इन्जेक्सनबाट लिने यस्ता लागूपदार्थको बरामद परिमाण ज्यादैं न्यून रहेको लागूऔषध नियन्त्रण व्युरो झापा शाखाले जनाएको छ ।

लागूऔषधलाई स्थानीय तहबाटै नियन्त्रण गर्नका लागि मेचीनगर नगरपालिका लागिरहेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । नगरपालिकाले नगरका विभिन्न ठाउँमा यसका विज्ञहरुलाई निम्त्याएर चेतनामुलक र प्रशिक्षणमुलक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको नगर प्रमुख बुढाथोकीले जानकारी दिए । लागूऔषध नियन्त्रणका लागि घर–घर र विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख, प्रहरी नायव उपरीक्षक दिपक भारतीको भनाई छ । मेचीनगर नगरपालिकाभित्र लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि प्रहरीले सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गरेर चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । झापामा मात्र नभएर नेपालमा नै लागूऔषध दुर्व्यसनको अवस्था भयावह रहेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीसँगै अभिभावक, परिवार, स्थानीय तहलगायतको महत्वपूर्ण भूमिका रहेको प्रहरी नायव उपरीक्षक भारतीले स्पष्ट पारे ।

१८ पुषमा मेचीनगर —६ काँकरभिट्टामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय , इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवाकेन्द्र काँकरभिट्टाको संयुक्त आयोजनामा लागूपदार्थ दुर्व्यसन, अवैध ओसार पसार, बिक्री वितरण नियन्त्रणसम्बन्धी अन्तरक्रिया भएको थियो । पछिल्लो समय प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै (लापसे) लागूपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको छ । । हरेक वर्ष जुन २६ गते लागूऔषध तथा ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । सरकारले यो दिवस साप्ताहिकरुपमा विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाउँदैं आएको छ । स्थानीय सरकारसहित विभिन्न संघ संस्थाहरुले समेत बेलाबखत विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएका छन् । तर, समस्या ज्यूँका त्यूँ छ ।

लगूऔषध दुर्व्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल असर पार्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख भारतीको भनाई छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरिरहेको छ भने यसलाई सबै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैरसरकारी निकाय मिलेर समाधानको बाटोतर्फ लैजानु पर्ने छ । समाजमा विद्यमान समस्याको रुपमा रहेको लागूऔषध दुर्व्यसन तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुक हुनुपर्ने सरकारी अधिकारीहरु बताउँछन् । दुर्व्यसनमा फसेकाहरुले उपचार पाउनु उनीहरुको अधिकार हो तर कुलतमा फस्नु अधिकारभित्र नपर्ने ती सरकारी अधिकारीहरुको भनाई छ ।

समुदायमा बढ्दो लागूपदार्थ दुर्व्यसनले हत्या, हिंसा र यस्तै जघन्य प्रकृतिका आपराधिक घटनाहरु बढिरहेका छन् । प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने बढीजसो आपराधिक क्रियाकलापमा लागूऔषध दुर्व्यसनीहरुको संलग्नता रहेको छ, बढीजसो दुर्घटना लागूऔषध सेवनकै कारण भएको छ । त्यस्तै बढीजसो घरेलु हिंसा, द्वन्द्व, भिडन्तजस्ता अप्रिय घटनाहरु लागूऔषध दुर्व्यसनकै कारण भएको पाइन्छ ।

घर, समाज, टोललगायत राष्ट्रकै मुख्य समस्याका रुपमा रहेको लागूऔषध नियन्त्रण यतिखेर मुख्य चुनौतीको रुपमा रहेको छ । यसको नियन्त्रण र रोकथामका लागि विभिन्न प्रयासहरु पनि नभएका होइनन् । लागूऔषध दुर्व्यसन तथा ओसार पसार विद्यमान समस्याको रुपमा रहेकाले अब हरेकले काँधमा काँध र हातमा हात मिलाएर यसको नियन्त्रण र रोकथाममा अघि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्