मेचीनगर, चैत ३ । यस वर्षको भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरका पत्रकार कौशल चेम्जोङलाई प्रदान गरिने भएको छ ।

पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान मेचीनगरको शनिबार सम्पन्न बैठकले वरिष्ठ पत्रकार चेम्जोङलाई नगद राशि ४१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक पत्रकार चन्द्र भण्डारीले जानकारी दिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी पत्रकार चेम्जोङ उदयपुरको गाईघाटमा रहेर छापा तथा विद्युतीय सञ्चारमाध्यममा क्रियाशील छन् । उनी कुशल प्रशिक्षकसमेत हुन् ।उनको उदयपुरको साहित्य कृतिसमेत प्रकाशित भएको छ ।


यसैगरी, उत्कृष्ट शिक्षकका रुपमा मेचीनगर— १४ मा रहेको बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापालाई पुरस्कृत गरिने भएको छ । त्यस्तै विषयगत गणित शिक्षक मेचीनगर — ८ बाल कल्याण माविका राजेश खनाल तथा जेहेन्दार छात्र छात्रातर्फ धुलावारी माविका कृतिका सुब्बा र पुष्कल घिमिरेलाई पुरस्कार तथा सम्मान प्रदान गरिने बैठकले निर्णय गरेको छ । उत्कृष्ट शिक्षकको राशि नगद १५ हजार तथा विषयगत शिक्षकको राशि १५ हजार र उत्कृष्ट छात्रा र छात्रातर्फको राशि जनही ७ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र रहेको संयोजक पत्रकार भण्डारीले जानकारी दिए ।

नगद ७५ हजार रुपैयाँको राशि र सम्मानपत्रसहितको उत्कृष्ट विद्यालयको सम्मान तथा पुरस्कार धुलावारी माध्यमिक विद्यालयलाई प्रदान गरिने बैठकले निर्णय गरेको छ । लोपोन्मूख लाप्चा जातिबाट उत्कृष्ट अंक प्राप्त गर्ने झापा शान्तिनगर माविका छात्र खिलबहादुर लाप्चा र छात्रा सलमा लाप्चालाई पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद जनही ७ हजार ५ सय र सम्मानपत्र रहेको छ ।

यही चैत ११ गते धुलावारीमा हुने कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको हातबाट सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिने तथा प्रतिभा छनौट समितिका संयोजक पत्रकार भण्डारीले जानकारी दिए । बैठक भण्डारीकै अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्