झापा,चैत ४ । मोरङको पथरीशनिश्चरेमा रहेको मिलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीमा १ करोड ७१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

पथरीशनिश्चरे नगरपालिका–१ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार काठ र इँटा प्रयोग गरेर बनाइएको कर्कट पाताको छानो भएको मिलमा आगलागी भएको हो ।

नेपाल र सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आइतबार बिहानका राति २ः२५ बजेतिर आगो नियन्त्रणमा आएको दाहालले बताए । उनका अनुसार आगोले मिलसहित मिलभित्र रहेको ९० मन धान, २ सय मन गहुँ, ५० मन मकै, २० मन खुदी, २० मन चिउरा, २ सय मन भुस जलेर ध्वस्त भएको छ ।

आगोले मिन छेउमा रहेको बंगुरको खोरसमेत जलेको छ । खोरभित्र रहेका ४ वटा बंगुर जलेर मरेको डीएसपी दाहालले बताए ।

उनका अनुसार आगलागीमा मानवीय क्षति भने भएन । आगलागीको कारण खुल्न बाँकी रहेको जानकारी उनले दिए । इलाका प्रहरी कार्यालय पथरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्