झापा,चैत ४ । आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदै छ ।

अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म एक करोड ५७ लाख थान छापिसकिएको जानकारी दिए । कक्षा ५ को पुस्तक मात्रै छाप्न बाँकी छ । कक्षा ५ मा छाप्नुपर्ने कुल २४ लाख थान पाठ्यपुस्तकमध्ये छ लाख थान छापिसकिएको छ । उनले बाँकी १८ लाख थान पाठ्यपुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने दाबी गरे । पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी थिइन् । उनले विद्यार्थीले भर्ना भएकै दिन हातहातमा पाठ्यपुस्तक पाउने गरी काम गर्न निर्देशन दिएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्