बिर्तामोड,चैत ५ । झापाको बिर्तामोड–२ मा रहेको रामचौक सामुदायिक वनमा व्यायामस्थल निर्माण गर्नका लागि छुट्टिएको बजेट अन्यत्र रकमान्तरण गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलले मनोमानी ढङ्गबाट वनका लागि छुट्टिएको रकम अन्यत्र रकमान्तरण गरेको भन्दै उक्त रकम आफूहरुले नै पाउनु पर्ने मागसहित वनका पदाधिकारी तथा स्थानीयले बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापनपत्र बुझाएका हुन् ।

वनका अध्यक्ष राजु गौतम र सचिव रुपा कोइराला सिग्देलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नगरपालिकाले दिएको ५ लाख बजेट वडाले आफूखुशी ढङ्गबाट रकमान्तरण गरेको भन्दै तत्काल उक्त निर्णय नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । कुनै पनि बजेट रकमान्तरण गर्दा स्थानीयलाई समन्वय गरिनुुपर्नेमा वडाध्यक्ष पौडेलले आफूखुशी गरेको आरोप लगाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ ‘रामचौकवासीले बिभिन्न कालखण्डमा आएका बाधा अड्चनलाई सामना गर्दै संरक्षण गरिरहेको वनलाई मिचिएको जग्गा फिर्ता ल्याउनु त कता हो कता , छुट्याइएको रकमसमेत जानकारी नदिई राजा महाराजाहरुको जस्तो हुकुमी शैलीमा आफूअनुकल रकमान्तरण गर्नुले रामचौकवासीको स्थानीय तहप्रतिको आशा र भरोसामा गम्भीर प्रश्न आएको छ ।’

बिगतमा तत्कालीन वडाध्यक्ष तथा हालका उपप्रमुख संग्रौलाले सो वनको संरक्षणमा चासो दिएपनि हालका वडाध्यक्ष पौडेलले बजेट नै कटौति गरेर अन्याय गरेको स्थानीयको आरोप छ । ज्ञापनपत्र बुझ्दै उपप्रमुख संग्रौलाले वडाले गरेको निर्णय गलत भएको प्रतिक्रिया दिए । उनले वडाले गरेको निर्णयका विषयमा नगर प्रमुखसंग छलफल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्