झापा, चैत ६ । लागूऔषधको प्रयोग र ओसारपसारमा देशकै पहिलो जिल्लाको रुपमा विकराल अबस्था बन्दासमेत झापाका स्थानीय सरकार प्रमुखहरु गंभीर बन्न सकेका छैनन् ।

व्यक्ति , परिवार ,समाज र सिंगो देश नै बिग्रिरहँदा लागूऔषध नियन्त्रणमा सिमावर्ती झापाका पालिकाहरु उदासिन देखिएका छन् । प्रहरी प्रशासनले लागूऔषध नियन्त्रणमा हातेमालो गर्न खोज्दासमेत सहकार्य गर्न उनीहरु अनिच्छुक देखिएका हुन् ।

भयावह र उदेकलाग्दो तरिकाले झापामा लागूऔषधको प्रयोग र ओसारपसार भइरहेपछि जिल्ला प्रहरी कार्यालय झापा र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो काठमाडौंले मंगलवार बिर्तामोडमा समुदाय प्रहरी साझेदारीअन्तर्गत लागूऔषधसम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेका थिए । अभियानका रुपमा संचालन गर्ने उद्धेश्यले आयोजित त्यस कार्यक्रममा झापाका १५ वटै पालिकाका प्रमुख , उपप्रमुख र वडाध्यक्षहरुलाई बोलाइएको थियो । त्यस महत्वपूर्ण कार्यक्रममा केही जनप्रतिनिधि मात्र उपस्थित भए । लागूऔषधको समस्या उनीहरुको प्राथमिकतामा पर्न सकेन ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वय रहेको त्यस कार्यक्रममा जनप्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधि , स्वास्थ्यकर्मी , कर्मचारी गरी ३५० जनालाई बोलाइएको थियो । तर, कार्यक्रममा त्यसको आधा पनि उपस्थित भएनन् । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी , दमक नगरपालिकाका प्रमुख राम थापा , अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल मात्र उपस्थित भए । मेचीनगरका प्रमुख बुढाथोकी र दमकका प्रमुख थापा कार्यक्रम सकिनुअगावै निस्किएका थिए भने भद्रपुरका प्रमुख पोखरेल केही ढिलो गरी कार्यक्रम हलमा प्रवेश गरेका थिए । त्यस्तै उपप्रमुखहरुमा बिर्तामोडका नगेन्द्रप्रसाद संग्रौला ,दमककी रेगिना भट्टराई प्रसाई , कनकाईकी आशा शर्मा शिवाकोटी , गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मीदेवी मैनालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गौरादह, शिवसताक्षी ,बाह्रदशी , कमल, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकाको कुनै पनि प्रतिनिधित्व रहेन । जिल्लाभरिका सुरक्षा निकायका प्रमुख र सुरक्षा अधिकारीहरुको सहभागिता रहेको कार्यक्रमप्रति जनप्रतिनिधिहरुले खासै चासो नदिँदा उद्धेश्य पूरा हुन सकेन । समाजमा व्याप्त लागूऔषध प्रयोग र ओसारपसार नियन्त्रणमा स्थानीय सरकारको मुख्य भूमिका हुनुपर्ने झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले बताए । उनले प्रहरी र स्थानीय तहले संगै सहकार्य गर्दा मात्र लागूऔषध नियन्त्रण गर्न सकिने धारणा राखे । समाजका सरोकारवाला निकाय, राजनीतिक दल , तिनका भ्रातृ संस्था , सामाजिक संघ संस्था , पत्रकारलगायतको सहयोगमा मात्र लागूऔषध नियन्त्रणको अभियान सफल हुनसक्ने प्रहरी उपरीक्षक केसीले बताए । भौतिक पूर्वाधारको निर्माणमा मात्र ध्यान नदिई मानवीय विकास र सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राख्न उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे । कार्यक्रमलाई सहजीकरण गर्दै लागूऔषध नियन्त्रण व्युरो काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले देशमा लागूऔषधको अबस्थाबारे जानकारी दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल , अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर,युवा संघकी केन्द्रीय सदस्य रोजिना पाण्डेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बूले गरेका थिए । जिल्लाका स्थानीय सरकार प्रमुखहरुलाई भेला गराएर लागूऔषध नियन्त्रणका लागि अभियान नै संचालन गर्ने उद्धेश्य रहेकोमा त्यो पूरा हुन सकेन ।‘प्रहरीकै हातबाट लागूऔषध नियन्त्रण संभव नभएको अबस्थामा जनप्रतिनिधिहरुलाई झकझक्याउन कार्यक्रम आयोजना गरेका थियौं’ एकजना प्रहरी अधिकृतले भने,‘तर उहाँहरुले वास्ता गर्नु भएन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्