हल्दिवारी,चैत ६ । झापाको हल्दिवारी गाउँपालिकाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) को पहलमा खानेपानी मन्त्रालयले एउटा सवारीसाधन उपलब्ध गराएको छ । सवारीसाधन आएसँगै आवश्यक योजनाहरुको अनुगमन र पालिकाको अन्य काममा सहजता आउने देखिएको छ ।


सवारीसाधनको अभावमा पालिकाको कामका लागि भाडामा सवारीसाधन लिनुपर्ने बाध्यता थियो । यसबाट भाडावापत हुने फजुल खर्च नियन्त्रण हुने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए ।

केही ब्यक्तिहरुले सवारीसाधन खरिद गरेर गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा बिरोध गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत महेन्द्रका अनुसार सवारी साधन खरिद गरिएको हैन ।
करिब एक करोड ५० लाख मूल्य बराबरको टोयटाको हाइलेक्स गाडी मन्त्रालयले उपलब्ध गराएको महेन्द्रले बताए । साधारण मर्मत खर्च मात्र लाग्ने र सवारीसाधन थपिएको पालिकाकै सम्पत्ति हुने उनले बताए ।
मन्त्रालयले उपलब्ध गराएको उक्त सवारीसाधन मर्मतमा बजार हल्ला गरिएजस्तो नभएर अनुमानित ७ लाख रुपैयाँ खर्च लाग्ने पालिकाले जनाएको छ ।

हल्दिवारी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यबिधि २०७७ अनुसार झापाका गाउँपालिकामध्ये प्रथम र १५ वटै स्थानीय तहमध्ये तेस्रो भएको छ । हल्दिवारीले स्थानीय तह संस्थागत लीसा अन्तरगत ६२.५ प्रतिशत र क्षमता स्वमूल्याङ्कनतर्फ एफआरए अन्तरगत ७२ प्रतिशत ल्याउन सफल भएको पालिकाले जनाएको छ ।
त्यसैगरी झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिवारी गाउँपालिका स्वास्थ्यसम्बन्धी कार्यक्रमको मूल्याङ्कनमा समेत प्रथम स्थान हासिल गर्न सफल भएको छ । झापाका पालिकाहरुबाट आर्थिक बर्ष २०७९÷०८० न्यूनतम सेवा मापदण्डको प्रगति मूल्याङ्कन गर्दा हल्दिवारी गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको जनाइएको छ ।
हल्दिवारीले बेरुजु न्यूनीकरण गर्न सक्षम भएको छ । पालिकाले २ प्रतिशतभन्दा कम बेरुजु पुर्याउन सफल भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्