झापा,चैत ७ । मोरङको बेलबारीमा एक ब्यक्तिले श्रीमतीको हत्या पछि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएको खुलेको छ। उनीहरुको स्थायी ठेगाना यकिन भइसकेको छैन।

बमबहादुरले बुधबार बिहानका राति १ः४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए। उनका अनुसार दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो।

पत्नीको विभत्स हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाए पनि उनको अस्पतालमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरिसकेको छ। पति–पत्नीबीच के विषयमा विवाद भएर घटना भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्