लक्ष्मी उप्रेती,

मेचीनगर । नेपाल–भारत सीमाक्षेत्रमा तीनहप्ते पैदलयात्रा थालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाको नेतृत्वमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा तीनहप्ते पैदलयात्रा बुधवारबाट थालिएको हो । पैदलयात्रा शुभारम्भमा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसी, नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यात, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिहरु, सीमास्थित सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीका युनिटका प्रमुखहरु, स्थानीयवासी, समाजसेवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

‘सीमासँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअन्तर्गत नेपाल–भारत सीमा इलाका र सीमा स्तम्भहरुको अनुगमन गर्न , स्थानीयवासीहरुको समस्या÷गुनासो सुन्न ,नागरिक र सुरक्षाकर्मीबीच सकारात्मक सम्बन्ध स्थापित गर्न तथा सीमाबासीहरुसँग सम्बन्ध प्रगाढ बनाउने उद्धेश्यले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय तह, स्थानीयवासीहरु तथा सरोकारवाला निकायसहितको संयुक्त पैदलयात्रा तथा अन्तरक्रिया कार्यक्रम शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिए । चार भागमा विभाजन गरी झापा जिल्लाको सीमाक्षेत्रको पैदलयात्रा सीमा स्तम्भ नम्बर ९१÷१ बाट शुरु गरिएको हो । चैत महिनाभित्रमा पैदलयात्रा सम्पन्न गर्ने योजना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भारतसँग सीमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर सीमा इलाकाको संयुक्त अनुगमनका क्रममा सीमा सरोकारबारे स्थानीयबासीसँग संवाद पनि गरिने प्रेस नोटमा जनाईएको छ । सीमा पैदलयात्राका क्रममा पहिलो दिन मेचीनगर ७ को धनकुटे, भान्साखोलालगायतका स्थानीयवासीहरुसँग अन्तरक्रिया गरिएको बताईएको छ । सीमा स्तम्भ नम्बर ९१÷१ बाट शुरु गरिएको पैदलयात्रा मेचीनगर १ को तिरिङसम्म पुगेको बताईएको छ । अन्तरक्रियामा सीमाक्षेत्रको दशगजा, सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्या र जनसरोकारका विषयमा छलफल हुने जनाइएको छ ।

सीमाक्षेत्रमा हुने अबैध गतिविधिहरु र सोको नियन्त्रणमा नागरिक र सुरक्षाकर्मीहरुको भूमिका अन्तरसम्बन्धका विविध विषयमा अन्तरक्रिया गरी स्थानीय जनताको समस्या तथा गुनासोको जानकारी लिई नागरिक र सुरक्षाकर्मीबीच सकारात्मक सम्बन्ध स्थापित गर्नु पैदलयात्राको उद्धेश्य रहेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी ’ कार्यक्रमअन्तर्गत झापा जिल्लाको अन्तर्राष्ट्रिय सीमा जोडिएका २१ वडाहरुमा सीमा सहजीकरण समिति गठन भई कार्य गदैं आएको बताईएको छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षाको संवेदनशीलतालार्ई मध्यनजर गरी सशस्त्र प्रहरी बल नेपालको परिचालनलाई अझै परिष्कृत, प्रभावकारी एवम् नतिजामुखी बनाउँदैं नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नको निमित्त आफ्नो इलाकाको भौगोलिक, सामाजिक एवम् साँस्कृतिक अवस्थाको जानकारी राखेर अन्य सुरक्षा निकायलगायत सम्बन्धित सरोकारवाला निकायहरुसँग समेत समन्वय र सहकार्य गरी व्यवसायिक ढंगबाट परिचालित भई कुशलताका साथ राज्यको अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी बहन गदैं आएको गणपति सशस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक मदन रसाईलीले सञ्चालन गरेको कार्यक्रममा सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको प्रभावकारी उपस्थिति तथा सीमाबासीसँग सहकार्य गर्ने उद्धेश्यले २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा संगठन प्रमुखबाट घोषणा भई कल्याणकारी सेवाकेन्द्रमार्फत सीमाक्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र, वर्ग, एवम् सिमान्तकृत समुदायका छात्र—छात्रामध्ये सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ जनालाई वार्षिक १२ हजार रुपैयाँका दरले शैक्षिकवृत्ति र २ जनालाई नेपाल एपीएफ विद्यालयमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने, सीमालक्षित प्रदेश स्तरीय बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने, अन्तर्राष्ट्रिय सीमामा जोडिएका जिल्लामा बसोबास गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई वार्षिक ४० प्रतिशत व्याजदरमा न्यूनतम ५ देखि १० लाख रुपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने योजना रहेको बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्