झापा, चैत ७ । चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बिर्तामोडमा सम्मान गरिएको छ ।

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा कलाकारद्वय महजोडीलाई संयुक्त रुपमा पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट सम्मानित गरेको हो । प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले जानकारी दिए । भारत दार्जिलिङका प्रख्यात नाटककार सिके श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको थियो ।

पुरस्कृत प्रतिभा हरिबंशले मदनकृष्ण र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झनलायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको प्रतिक्रिया गरे । मदनकृष्णसँगको ४४ बर्षको सहयात्राले आफूलाई यो स्थानमा पुर्याएको भन्दै उनले मित्रताको दीर्घकालीन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए ।
अर्का प्रतिभा मदनकृष्णले उनले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठुलो पुरस्कार हरिबंश भएको बताए । उनले आदर्श नागरिक सम्मानबाट आफूलाई सम्मानित गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्