द्रोण अधिकारी
भद्रपुर । राजनीतिले सही गति दिन नसक्दा जन्मभूमिमा सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिमा अकालमा मर्नुपर्ने बाध्यता आएको छ ।

पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम अधिकारीसहित ७ जना युवाले अवैध बाटो रोजेर पेट पाल्नकै लागि अकालमा मर्नुपरेको बाध्यता हेर्दा नेपालको राजनीति कहिले सही गतिमा आउला भन्ने प्रश्न उठिरहेको छ ।
झापाको हल्दिवारी १ का ३२ वर्षीय गंगाराम अधिकारी नेपाली माटोमा बसेर सेवा गर्ने अवसर नपाएपछि परिवार धान्न र पेट पाल्नका लागि विदेशिने क्रममा रूसी युद्धमा ज्यान गुमाउन बाध्य भए ।

रघुनाथ र मोतीमाया अधिकारीका बुढेसकालको एक्लो सहारा गंगारामको मृत्युको खवरले उनीहरू बोल्न सक्ने अवस्थामा छैनन् । उनीहरूको एकमात्र छोराको मृत्युको खवरसंगै अहिले छोराको काजकिरिया गरिरहेका छन् । लास र सास देख्न नपाएका उनीहरू छोराको मृत्युको खवर असत्य होस् र छोरो टुप्लुक्क घरमा आएर उभियोस् भन्ने कामना पनि गरिरहेका छन् ।
गरिबी र बेरोजगारीको समस्याले पिरोलेपछि एउटा मिठो सपना बोकेर वैदेशिक रोजगारीका लागि २ वर्ष अगाडि कतार गएका गंगाराम आफ्ना दुई नाबालक छोराहरू, श्रीमती, आमाबुबा र बैनीहरू लगायत आफन्तसित सुखदुःख बाँड्न नसक्ने गरी सदाका लागि बिदा भए । परिवारको सुखको सपना देखेर कतारबाटै रुसी सेनामा भर्ती भएसँगै आफ्नो जन्मभूमि नफर्कने गरी उनी उतै अस्ताए ।

अधिकारी परिवारको एक्लो छोरा घर फर्किने सपना चैत १ गतेको रूसी सेना र दूतावासको पत्रसंगै अन्त्य भएको हो ।
एउटा साधारण परिवारका गंगारामसंगै कतार पुगेका छिमेकी भाइहरू फर्किएका थिए भने गंगाराम परिवारको उज्वल भविष्यको चिन्ता गर्दै कतारबाटै एजेन्टमार्फत गत मंसिर ५ गते रूसी सेनामा भर्ती भएको खबर परिवारले सुन्दा छाँगाबाट खसेको उनका बुबा रघुनाथले आँखाबाट आँशु झार्दै बताए ।

युद्धमा होमिएको रूसी सेनामा कसले कसरी पुर्यायो ? उनीजस्तै सयौं युवा भर्ती भएको उनले पटकपटकको कुराकानीमा बताएका थिए । २०४८ असोज ५ गते जन्मिएका गंगारामका ठुलो छोरा देवराज १५ बर्षका भएका छन् भने सानो छोरा अमिन ५ बर्षका छन् । उनकी अर्धाङ्गिनी अनुराधा भने श्रीमानको सम्झनामा टोलाइरहेकी छन् । समाज र धार्मिक परम्परा अनुसार चैत ५ गते गंगारामको कुशको शव बनाएर स्थानीय आर्यघाटमा सयौं मलामीले अन्तिम दाहसंस्कार गरेर छोरा देवराजले काजकिरिया गरिरहेका छन् । उनलाई त पत्यार नै लागेको छैन । दुई महिना अगाडिसम्म दैनिकजसो कुराकानी गर्ने बुबाको रूसी युद्धमा ज्यान गयो भन्ने कुरा छोरा देवराज पत्याउन सकिरहेका छैनन् । पत्याए पनि नपत्याए पनि अब उनकै काँधमा बृद्ध हजुरबुवा हजुरआमा, आमा र भाईको सहारा बनेर बुवाको सपना पूरा गर्ने अभिभारा आएको छ । फागुन २१ गते उनीहरुले सुनेको हल्ला असत्य होस् भन्ने ठानेका गंगारामको परिवारजस्तो थप २२ जना नेपाली युवाको परिवारले अर्काको भूमिमा गएर अकालमा ज्यान गुमाउनु परेको छ । उनीहरू सवैको पीडा हेर्दा नेपालको राजनीतिले देश र जनताका लागि सही बाटो नसमाउँदा यहीको माटोमा सेवा गरेर मर्ने सपना पूरा नहुने हो त ? प्रश्न गंभीर छ ।

मर्ने त मरिगयो परिवारले आश गरेको वैदेशिक रोजगार कोषबाट र बिमामार्फत पाउने रकम हो । त्यसको लागि उनीहरूसँग कुनै कागजपत्र छैन । नेपाल सरकार , स्थानीय सरकारले पहल गरेन भने प्राप्त हुने अवस्था पनि छैन । श्रम तथा रोजगार मन्त्रालयमार्फत रोजगारदाता कम्पनी तथा बिमा र राहत कोषमार्फत उपलब्ध हुने क्रियाखर्चलगायतका सेवा सुविधा अविलम्ब उपलब्ध गराउन गंगारामको परिवारले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्