झापा,चैत ९ । जग्गादाता स्वर्गीय डोमालाल राजवंशीको घर निर्माणका लागि नेप्लिज टिन्सले पनि आर्थिक संकलन थालेको छ ।

डोमालाल राजवंशी रंगशालालाई जग्गा दान गरेका राजवंशी परिवारको अबस्था दयनीय बनेपछि झापा गोल्डकप आयोजक समितिले घर निर्माण गर्ने अभियान शुरु गरेको थियो । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको आव्हानमा राजवंशी परिवारको घर निर्माणका लागि १० लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ । त्यही अभियानका लागि आफूहरुले सहयोग संकलन थालेको नेप्लिज टिन्सका अध्यक्ष मनिशजंग बस्नेतले बताए । उनले अहिलेसम्म १५ हजार रुपैयाँ संकलन भइसकेको बताउँदै करिब एक लाख रुपैयाँ संकलन गरेर झापा गोल्डकप आयोजक समितिलाई हस्तान्तरण गर्ने जानकारी दिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि घर निर्माणका लागि सहयोग गर्ने बचन दिएको बस्नेतले बताए ।

गत फागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाईमा दाता डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चारबुँदे ज्ञापनपत्र बुझाइएको थियो ।
ज्ञापनपत्रमा डोमालाल राजवंशीको परिवारको निम्न अबस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलव्ध गराउनु पर्ने, जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग उल्लेख गरिएको थियो । डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति , नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्