झापा, चैत ९ । तीन दिनअघि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त श्रेष्ठको प्रेमीसमेत रहेका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।
गत चैत ७ गते दिउँसो २ः५९ बजे श्रेष्ठको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठ र धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो । प्रहरीका अनुसार उनीहरुबीच दुई वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको थियो । तर, गत पुषमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् । सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबीच विवाद सुरु भएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मुलघाट गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको प्रहरीको दाबी छ ।

प्रेममा खटपटपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवै जना पुगेको प्रहरीको दाबी छ । ‘घटनास्थलमा निजहरू बीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि निज सबिन भन्ने बाबुराम भुजेलले योजनामुताबिक नै साथमा लिई गएको खुकुरी निकाली निज सुमना श्रेष्ठको घाँटी रेटी मारी खोल्सामा फाली सोही रात भागेको,’ प्रहरीले दाबी गरेको छ ।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो । भुजेलले सुमनाले प्रयोग गर्ने मोबाइल भने फुटाएर सिम खोलामा बगाएको र मोबाइल उनी आफैंले राखेका थिए । प्रहरीले उनको साथबाट फुटाएको मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्