लक्ष्मी उप्रेती,

भद्रपुर । अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणका लागि भद्रपुर भन्सार कार्यालयले सक्रियता बढाएसंगै राजस्व असुलीमा निकै प्रगति भएको छ ।

कार्यालयका निमित्त भन्सार प्रमुख अर्जुन सिटौलाका अनुसार भन्सार विभागले वार्षिकरुपमा दिएको लक्ष्य कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो आठ महिनाभित्रै पुरा गरेको हो ।

लक्ष्यमात्र पुरा नभई वार्षिक लक्ष्यको तुलनामा ४२ दशमलव ३० प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा भन्सार विभागले भद्रपुर भन्सारलाई १२ करोड ७८ लाख रुपैयाँ राजस्वको लक्ष्य दिएको थियो । तर, भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिना ( फागुन मसान्तभित्र)मा १७ करोड १८ लाख७२ हजार २ सय ७५ रुपैयाँ अर्थात १४२ दशमलव ३० प्रतिशत राजस्व संकलन गरिसकेको निमित्त भन्सार प्रमुख सिटौलाले जानकारी दिए ।

जुन लक्ष्यको तुलनामा ५ करोड १० लाख ९२ हजार २ सय ७५ रुपैयाँ अर्थात ४२ दशमलव ३० प्रतिशत बढी हो । कार्यालयले फागुन महिनामा मात्र १ करोड ६६ लाख८० हजार ९ सय ४८ रुपैयाँ अर्थात १ सय ५८ दशमलव ७३ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयको फागुनको मासिक लक्ष्य १ करोड ५ लाख ९ हजार रुपैयाँ राजस्व असुली रहेको थियो । लक्ष्यको तुलनामा कार्यालयले ६१ लाख ७१ हजार ९ सय ४८ रुपैयाँ अर्थात ५८ दशमलव ७३ प्रतिशत बढी राजस्व संकलन गरेको सिटौलाले जानकारी दिए । लक्ष्यको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को एकवर्षे अवधिमा ५६ दशमलव २८ प्रतिशत र २०७९÷०८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

‘कार्यालयले वार्षिक लक्ष्य पुरा गर्न नसकेपछि पछिल्लो समय भन्सारले अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणमा सक्रियता बढाएको छ ’ उनले भने‘ यसलाई हामीले परिणाममा देखायौँ ।’ मेची भन्सार कार्यालय काँकरभिट्टा मातहतमा रहेका भन्सार कार्यालयमध्ये प्रमुख स्थानमा भद्रपुर भन्सार रहेको छ । भद्रपुर छोटी भन्सारको स्तरोन्नति गरी २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले मुख्य भन्सारका रुपमा भद्रपुर भन्सार कार्यालयको उद्घाटन गरेका थिए ।
भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसनगञ्ज नाका भएर भद्रपुर हँुदै प्रमुख रुपमा लत्ताकपडा, चिया उद्योगको प्याकिङ्गका सामग्री तथा मेशिनरी पार्टस्, प्लाइउड, उद्योगको पाटपुर्जाको केमिकल , फलफूल र खेतीपातीमा प्रयोग हुने विषादि अत्यधिकरुपमा आयात हुने गरेको छ ।

यसअघि भद्रपुर भन्सार हुँदै आयात निर्यात गर्ने व्यवसायीहरुले प्रज्ञापनपत्र आफै भर्ने गरेकोमा केही दिनयता लाइसेन्स र कानुनी मान्यताप्राप्त भन्सार एजेन्टहरुले काम शुरु गरेको कार्यालयले जनाएको छ । भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि सवै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

यसअघि भद्रपुर भन्सार कार्यालय मेची भन्सार कार्यालय काँकरभिट्टाअन्तर्गत छोटी भन्सारको रुपमा रहेको थियो । सशस्त्र द्वन्द्वका बखत बिस्थापित भएर बन्द भएपनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्