खेलको जात, धर्म र भाषा हुँदैन । खेलमा केवल नियम र अनुशासन हुन्छ । खेलको नियममा धनी,गरिब सबै वर्ग अटाउने नै खेलकुद हो । खेलकुदमध्ये फुटबल सबैको बुझ्ने र रुचाउने खेल हो । सरल भाषामा भन्ने हो भने ‘फुटबल’ खेलमैदानमा धेरै दर्शक उपस्थित हुने खेल पनि हो । भनिन्छ, दर्शक नै ‘अम्पायर’ हुन् ।

हाम्रो बिर्तामोड, राम्रो बिर्तामोड भन्दै गर्दा झापा गोल्डकपले बिर्तामोड शहरको सौन्दर्य र शान बढाएको सबै खेलप्रेमी दर्शकहरुले महशुस गरेका छन् । के युवा, के बृद्धा सबैको मन झापा गोल्डकपमा सहभागी राष्ट्रिय क्लबहरुको खेल हेर्न आतुर देखिन्थे। भइदियो त्यस्तै, अपार दर्शकहरुको भिड । अझ खेलमैदानकोे रौनक मनमोहक थियो विश्वकप खेलाईने खेलमैदान जस्तै ।

झापा गोल्डकपको अर्को सवल पक्ष के थियो भने जग्गादाता पवित्र मनको धनी स्वर्गीय डोमालाल राजवंशीको पीडित परिवारका सदस्यहरुलाई खेलमैदानमा दर्शकमाझ उपस्थित गराई नगदसहित सम्मान गर्नु पनि हो। खेल सञ्चालन गर्नु भनेको अवसर मात्र नभएर चुनौति पनि हो । झापा गोल्डकपका वर्तमान अध्यक्ष समाजसेवी, खेलप्रेमी श्री विनोद बस्नेतको गतिशील नेतृत्वदायी भूमिका र अथक मेहनतले छैटौ झापा गोल्डकप भव्यरूपले सफलतापूर्वक सम्पन्न भएको छ । यसको श्रेय उहाँलगायत सम्पूर्ण आयोजक टिम सदस्यहरुलाई दिनै पर्छ । झापाले राष्ट्रलाई ठूलो योगदान पुर्याएको छ । चाहे त्यो राजनैतिक होस्, चाहे त्यो आर्थिक, खेलकुदको पाटोमा हेर्ने हो भने फुटबलमा त राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु जन्माईसकेको छ । अर्को अर्थमा भन्ने हो भने झापा खेलाडीहरू उत्पादन गर्ने कारखाना नै हो। यसको उपज झापा ११ सँग जोडिएको झापा गोल्डकप पनि हो।

भनिन्छ, सन्तान हुर्काउनु भन्दा जन्माउनु ठूलो कुरा हो। हुर्किनु र हुर्काउनु प्राकृतिक नियम हो। झापा ११ टीमसँग जोडिएको झापा गोल्डकपका पिता खेलप्रेमी विकासप्रेमी श्री जलकुमार गुरुङको अगुवाईमा सुरुवात भएको प्रथम झापा गोल्डकपले व्यवहारिक रुपमा जन्माएको रंगशाला भन्नुमा कुनै दुईमत छैन र अहिले त्यही खेलमैदान ‘डोमालाल राजवंशी रंगशाला’ भनेर राष्ट्रिय स्तरमा परिचित छ।

पवित्र मन राखी स्वर्गीय डोमालाल राजवंशीले देवीमाताको पाउमा सुम्पेको ‘अचल दान भेटी’ गिद्घे दृष्टि बोकेका माफियाहरुको गतिविधिमाथि देवीमाताले नजिकबाट नियालिरहेकी छिन्। देवीमाताले पवित्र मनका धनी स्वर्गीय डोमालाल राजवंशीको इतिहासको पानामा स्वर्ण अक्षरले कोरिरहेकी छिन्। प्रार्थना गरौं, हामी खेलप्रेमी दर्शकको पक्षमा माताले न्यायको वकालत गर्ने छिन्, आशिर्वाद प्रदान गर्ने छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्