झापा,चैत १२ । परापूर्वकालदेखि मानिदै आएका सबै संस्कार संस्कृति ठीक हुन्छ भन्ने छैन । हिन्दु धर्मभित्र त्यस्ता कतिपय चाडपर्व छन्, जुन अहिले अंगिकार गर्नै सकिदैन । त्यही भएर वर्तमान समाजले कुसंस्कारलाई छोड्दै गएको हो ।

हिन्दु धर्म मान्ने राजवंशी जातिमा अश्लील देवताको पुजा गर्ने चलन अझै छ । अश्लीलता प्रदर्शन गरेर र अश्लील गीत सुनाएर खुशी पार्नुपर्ने देवता राजवंशी जातिमा रहेको हो । जसलाई डोल ठाकुर भनिन्छ । होली अर्थात फागु पूर्णिमाका दिन आज त्यस डोल ठाकुर (कुल देवता)को पुजा गर्ने चलन छ ।

डोल ठाकुरको पुजा गर्ने भएर होली पर्वलाई राजवंशीहरुले डोल पाब्नी भन्ने गरेका छन् । कुल देवताको रुपमा रहेको डोल ठाकुरलाई होलीमा सबैले पुजा गर्ने गर्दछन् । उहिले अश्लील गीत गाएर , यौनिक चित्र बनाएर,कामुकता प्रदर्शन गरेर पुरुषहरुले गाउँ डुल्ने गर्थे । घरघरमा त्यस किसिमको अश्लील गीत (जसलाई डोल भनिन्छ ) गाएर हिड्ने प्रचलन थियो ।
‘जति गायो त्यति डोल ठाकुर शान्ति हुने बिश्वास छ ’ बाह्रदशी –१ का बयोबृद्ध श्रीलाल राजवंशीले भने, ‘उहिले डोल निकै गाइन्थ्यो ।’ उनले महिला केटाकेटीले सुन्नै नसक्ने लाजलाग्दो खालको भएर डोल गाउन छोडिएको बताए । उनले डोल गीत दुई किसिमको भएको बताउँदै कुनै घुमाउरो पाराको र कुनै छाडा खालको भएको जानकारी दिए । ‘खासगरी डोल गीतमा शिव पार्वतीको रासलीलाका बारेमा बखान गर्ने गरिन्छ ’ उनले भने । अहिले डोल गीत गाएर हिड्ने नगरिएपनि डोल ठाकुरको घरघरमा पुजा गर्ने चलन छ । होलीको दिन चोखो कराइमा पकाएको पुवाँ,अबिर, अक्षता, काँचो दुध, केरा, लड्डु, पान सुपारी, अगरबत्ती चढाएर डोल ठाकुरको पुजा गर्ने चलन रहेको राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशीले बताए । डोल ठाकुरलाई चढाएपछि मात्र अबिर खेल्ने नियम रहेको उनले जानकारी दिए ।

को हुन् डोल ठाकुर
डोल ठाकुरलाई भगवान शिवको अवतारको रुपमा लिने गरिन्छ । प्रकृतिपूजक राजवंशीहरुले प्रकृतिप्रेमी शिवलाई मान्ने गरेका छन् । डोल देवताको पुजा कहिलेदेखि शुरु भयो भन्ने यकिन नभएपनि यसको बारेमा पौराणिक भनाइ सुन्न पाइन्छ । गहिरो मायाजालमा पारेर पार्वतीले छोडेर हिडेपछि शिवलाई एक्लै बस्न असह्य भयो ।

उनी पार्वतीलाई खोज्दै भौतारिरहे । तर, पार्वतीलाई भेट्न सकेनन् । त्यसपछि उनी बिरक्तिएर तपस्या गर्न जंगल गए । यता पार्वती शिवलाई खोज्दै उनीहरु बस्ने कुटीमा पुगिन् । शिवलाई नपाएपछि बिक्षिप्त बनेकी पार्वतीले आवेशमा आएर कुटीमा आगो लगाइदिएर हिडिन् । आगोले कुटीसँगै शिवका लत्ताकपडा सबै डढेर नष्ट भए । पछि शिव फर्केर आउँदा न उनले बस्ने ठाउँ भेटे, न लगाउने लुगा नै । आफ्नो शरीरको अंग छोप्न उनले जिउँभरि खरानी दले अनि पार्वतीको वियोगमा गाउँदै नाच्दै ताण्डव देखाउँदै हिडे ।

त्यही प्रसंगलाई लिएर राजवंशी जातिमा डोल गाउने र डोल ठाकुरको पुजा गर्ने चलन चलेको राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनले बताए । पार्वतीले कुटी जलाएको घटनाको स्मरणस्वरुप भेलार घर(भोलाको घर) जलाउने चलन अझै रहेको उनले जानकारी दिए । कतिपयले होलिका दहनसँग भेलार घर जलाउने संस्कृतिलाई जोड्ने गरेको पाईन्छ ।
उहिले बाजागाँजासहित राजवंशीहरुले डोल गाएर हिडेको स्मरण आफूलाई रहेको पूर्व सहायक मन्त्री टेकनारायण राजवंशीले बताए । उनले भने‘ राजवंशी जातिमा होलीमा रंग नखेलेर अबिर मात्र खेल्ने परम्परा छ ।’

अश्लील भएर अहिले डोलका गीत कतै पनि गाएर हिडेको पाइदैन । जुन बिल्कुलै लोप हुन पुगेको छ । त्यस किसिमका गीतहरुलाई परिष्कृत गरेर राखिनु पर्नेमा बाह्रदशी गाउँपालिका वडा नं ३ का पूर्व वडाध्यक्ष बिरेन्द्र राजवंशी जोड दिन्छन् ।‘अहिलेका युवा पुस्तालाई डोल ठाकुर भन्ने मात्र थाहा छ तर डोल गीत सुनेका छैनौं ’ उनले भने,‘ अश्लील गीतलाई परिष्कृत गरेर लोप हुनबाट जोगाउनु पर्छ । ’ राजवंशीहरुले होलीपछि मात्र छाता ओढ्ने गरेका छन् । होलीपछि मात्र छाता ओढ्नु पर्ने नियम रहेको बिरेन्द्रले बताए । राजवंशीमा मात्र नभएर अरु जातिले पनि होलीमा अश्लील गीत गाउने चलन छ । मधेसी समुदायमा त्यस किसिमको होली गीत सुन्न सकिन्छ । भारतको पश्चिम बंगालमा पनि होलीलाई डोल पुजा भनेर मनाउने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्