झापा,चैत १२ । जनमत पार्टीले इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् ।

प्रेमदीप किराँत–लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् । जनमतले आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारेपछि प्रेमदीपले आफ्ना प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । साथै उनी प्रचार–प्रसारमा समेत लागिसकेका छन् ।

प्रेमदीपले प्रदेशको नाम ’किरात लिम्बुवान’ राख्न संसद्मा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुलाचुलीमा इलाका प्रशासन र मालपोत कार्यालयको स्थापना गर्ने उनको प्रतिबद्धता छ । थाम्सुहाङ दुर्गा प्रसाईको अभियानका सचिवालय सदस्य पनि हुन् ।

प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र–१ (१) मा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्