बिर्तामोड,चैत १३ । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा एक युवकमाथि छुरा प्रहार भएको छ ।

दुई समूहबीच झडप हुँदा छुरा प्रहार भएको बताइएको छ ।
प्रहरीका अनुसार आज राति ८.२० बजे छुरा प्रहार भएको हो । छुरा प्रहारबाट घाइते भएका बिर्तामोड–१ का २३ बर्षीय सुनिराम मुर्मूलाई उपचारका लागि स्पाइन एक्स अस्पताल लगिएको छ । उनको बायाँ हातको कुम र ढाडको माथिपट्टी गर्दनमा चोट लागेको छ । उनको अबस्था गंभीर रहेको छ । मुर्मूलाई छुरा हान्नुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड १ बस्ने २३ वर्षीय राम टुडू, वडा नं ६ बस्ने १९ वर्षीया एलिना श्रेष्ठ , वडा नं १ बस्ने २९ वर्षीय सुसान मुर्मू , अर्जुनधारा ११ बस्ने ३० वर्षीय सरोज सहनी र कनकाई १ बस्ने २३ वर्षीय मनोज बि.क.रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्