झापा,चैत १४ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए । उनले उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताए ।

त्यस्तै आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’, खनालले बुधवार बिहान भने, ‘भरेभोलि पार्टीले औपचारिक निर्णय गर्छ ।’ यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भएपनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए । सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्