भद्रपुर, चैत १४ । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोपमा शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी–३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर–७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

फरार रहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीको पत्रअनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिनदेखि उनीहरू फरार थिए । संस्थाका अध्यक्ष भद्रपुर–६ निवासी राजु भन्ने मदन श्रेष्ठ अझै फरार रहेको प्रहरी निरीक्षक गिरीले बताए । पक्राउ परेका उनीहरूमाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । सहकारीका पीडित शेयरधनी तथा बचतकर्ताहरूको संघर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिबिरुद्ध उजुरी दिएको थियो । रजिष्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु भन्दै प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो।

सोही पत्र अनुसार प्रहरीले शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुँजी र बचत रकम हिनामिना एवं अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही अघि बढाएको हो । २०७७ सालमा स्थापना भएको शुभसाइत साकोसमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । भद्रपुर–१० प्रधान कार्यालयको ठेगाना रहे पनि भद्रपुर–६ मा शुभसाइतले कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको थियो। हाल सहकारीको कार्यालय बन्द छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्