बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ ।

बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रणसम्बन्धी सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको जानकारी दिए । जसमा सबैभन्दा बढी वडा नम्बर ३ मा १९ जना रहेका छन् । यस्तै वडा नम्बर १मा १३ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ४मा १४ जना, वडा नम्बर ५मा १६ जना, वडा नम्बर ६मा ६ जना, वडा नम्बर ७मा ७ जना, वडा नम्बर ८ मा १३ जना, वडा नम्बर ९मा ६ जना र वडा नम्बर १० मा १३ जना रहेका छन् ।
कार्यालय प्रमुख बाराकोटीले कुष्ठरोगीले औषधी पुरा मात्रामा सेवन गरे अरुलाई सार्न र अङ्गभङ्ग हुनबाट बच्ने बताए । उनले समाजमा कतिपय रोगीहरु गलत धारणाका कारण लुकेर बस्ने गरेकाले पनि कुष्ठरोग नियन्त्रणमा समस्या देखिएको बताए ।
यस्तै नेपाल कुष्ठरोग संगती (एनएलएफ) झापाका कार्यक्रम संयोजक दिपक घिमिरेले विगत २०५७ सालदेखि एनएलएफले नेपाल सरकारको कुष्ठरोग नियन्त्रण कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको जानकारी दिए । उनले झापामा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए । एनएलएफले बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा कुष्ठरोगका विषयमा जनचेतनामुलक कार्यक्रम र रोगको संक्रमण भए नभएको चेकजाँचका लागि स्क्रिनिङ गर्ने कार्य गर्दै आएको छ ।

बिर्तामोडलाई कुष्ठरोग मुक्त पालिका बनाउने अभियानअन्तर्गत प्रथम चरणमा वडा नम्बर १,४,५,६ र ८ लाई प्राथमिकता दिएर अभिमुखीकरण कार्यक्रम गरिएको बिर्तामोडका कुष्ठरोग फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए।
प्रति १० हजार जनसंख्यामा आर्थिक वर्ष २०७९÷८०को अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप (प्रिभिलेन्स) दर झापाको १.६० रहेको छ । यो कोशी प्रदेशकै सबैभन्दा बढी हो ।

तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमामात्रै झापाका पालिकाहरुमा संक्रमितको संख्या कचनकवलमा २४ जना , बिर्तामोडमा १९ जना, दमकमा १८ जना , गौरीगञ्जमा १६ जना, गौरादहमा ११ जना, हल्दीबारीमा ११ जना, मेचीनगरमा १० जना, भद्रपुरमा १० जना, कमलमा ८ जना , शिवसताक्षीमा ६ जना, झापामा ६ जना, बुद्धशान्तिमा ५ जना, अर्जुनधारामा ५ जना, बाह्रदशीमा ५ जना र कनकाईमा ३ जना गरि १ सय ५७ जना रहेका छन् ।

अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नगरका प्रवक्ता तथा वडाध्यक्ष अग्निप्रसाद पाण्डे, राहुल शर्मा, रोहित प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नगर अस्पतालका प्रमुख डा. सुनिल अधिकारी, कार्यपालिका सदस्य, वडा सदस्यलगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी र एनएलएफ झापाका कार्यक्रम संयोजक दिपक घिमिरेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्