झापा, चैत १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन्।

एमाले झापाको ११औँ अधिवेशनको बिर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् । उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे। उनले लालकिल्लामा कसैलाई हात हाल्न दिन नहुने बताए।
उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न चेतावनीसमेत दिए। उनले झापाबाट गल्तीले जितेर गएकाहरुको भूमिका कामै नलाग्ने रहेको बताए।

उनले भने, ‘झापा लालकिल्ला हो, लालकिल्ला रहनुपर्छ। आजको होइन हो, यो ०४८ सालको शुरुको लालकिल्ला हो। यो लालकिल्लामा कसैलाई हात हाल्न दिनु हुँदैन। हात हाल्ने कुचेष्टा नगरे हुन्छ। यो लालकिल्ला हो, लालकिल्ला रहन्छ। गल्तीले जितेर गएकाहरुको भूमिका हेर्नुस् त कस्तो छ?’

अध्यक्ष ओलीले ‘मिसन ८४’ पार्टीको अर्जुनदृष्टि भएको बताए । उनले आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’लाई अर्जुनदृष्टि बनाइरहेको दावी गरे ।
ओलीले वर्तमान सत्ता समीकरण देश विकासका लागि भएको दावीसमेत गरे । यसअघि नेकपा एमालेलाई एक्ल्याउन र अघि बढ्न नदिन कांग्रेसले स्वार्थको गठबन्धन गरेको उनको आरोप थियो ।कांग्रेसको गठबन्धन भत्कनै पर्ने जनाउँदै पुरानो गठबन्धन भत्किएपछि एमालेले परिस्थिति सम्हालेको उनको भनाई थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा र झापा इञ्चार्ज विशाल भट्टराईले मन्तब्य राखेका थिए । पार्टीका जिल्ला उपसचिव असारु राजवंशीले स्वागत गरेको कार्यक्रममा कार्यवाहक जिल्ला अध्यक्ष प्रेम गिरीले अध्यक्षता गरेका थिए ।

पार्टीले विभिन्न कालखण्डमा पार्टीको नेतृत्व हाँकेका र योगदान पुर्याएका अग्रज नेताहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पार्टीकी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाई, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौलालगायत छन् ।त्यस्तै युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा र तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेलसमेत सम्मानित भएका छन् ।

जिल्ला सचिव शिव ढुंगेलले सञ्चालन गरेको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापालगायत केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यहरू, पोलिटव्युरो सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीलगायत सदस्यहरू,जिल्ला, प्रदेश, नगर कमिटीलगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाएका छन् । एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुंगेल आकांक्षी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्