झापा,चैत १६ । झापाको गौरीगन्ज गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ । पढ्दापढ्दै बिचमा कक्षा छोड्नबाट रोक्नका लागि छात्राहरुलाई साइकल वितरण गरेको हो ।

गाउँपालिकाले वर्षेनी नीति तथा कार्यक्रममार्फत् नै सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ । छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र विद्यालय आवत जावतमा सहजता ल्याउनका लागि गौरीगन्ज गाँउपालिका ६ स्थित खजुरगाछी माविका कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरिएको गाँउपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले बताइन् ।

पालिकाभित्र रहेका ४ वटा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत २३६ जना विद्यार्थीलाई साइकल वितरण गर्ने योजना अनुसार वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले बताइन् । यसले गर्दा बिचमा कक्षा छाड्ने क्रम पनि रोकिएको उनले जनाइन् ।

पैदल हिँडेर एक गाउँबाट अर्को गाउँमा रहेको बिद्यालयमा पढ्न जादाँ धेरै समय लाग्ने भएकाले बिचमा नै धेरैले पढाइ छाड्ने गरेका रहेछन्, राजवंशीले भनिन् । बाबु आमा अर्काकोमा मजदुरी गर्न जाने भएकाले आफै घरको काम सकेर छात्राहरुलाई बिद्यालय जान ढिलो हुने हुँदा साइकलले समय बचत गराएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्