इलाम, चैत १६ । इलाम साहित्य महोत्सव आजदेखि इलाममा सुरु भएको छ ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजद्वारा संयुक्त रुपमा दुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना गरिएको हो । महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे ।

कुलपति राईले सांस्कृतिक सत्ताको स्थापना नगरी देश सम्पन्न नहुने बताए । मौलिक ज्ञान प्रणालीको सांस्कृतिक सत्ता आवश्यक रहेको उनले औल्याए । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजित महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक, कलाकारको सहभागिता रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल समाजको सहयोगमा सञ्चालित महोत्सवमा नेपाल र भारतका दुई सयभन्दा बढी साहित्यकार , लेखक , राजनीतिकर्मीलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मीलगायतलाई एकै थलोमा जमघट गराई बहस थालिएको छ । कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण , नाटकजस्ता विधामा बहस राखिएको छ भने विचार , कविता , गजल वाचन महोत्सवको आकर्षणको रुपमा रहेको छ ।

कार्यक्रमको पहिलो प्रस्तुति पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको संरचनात्मक संकट र दीगो समाधान विषयमा सम्भाषण दिएका छन् । पहिलो दिन ‘संघीयता ः यस्तै वा कस्तो’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कवितामा के छ’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डाक्टर अरुण गुप्ता र धनप्रसाद सुवेदीको बहस , ‘सीमादेखि सीमा साहित्य र संस्कृति’ शीर्षकमा डाक्टर कविता लामा , गणेश खनिया र दिपक लुङगेलीको बहस हुने तालिका छ ।

यस्तै ‘पोयट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानीको सम्भाष , ‘नेपाल २०३० समुन्नतिका लक्ष्य , चुनौती र इलाम सन्दर्भ’मा डाक्टर स्वर्णिम वाग्लेको सम्भाष , ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने कार्यक्रम तालिका छ । ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचन पनि हुनेछ ।

दोस्रो दिन शनिबार ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको बहस , ‘सिनेमा कस्तो मौलिकता’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोह अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ । साहित्यमा प्रतिरोध शीर्षकमा शैलेन्द्र अधिकारी , शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

समय , समाज र राजनीतिका कुरा शीर्षकमा डाक्टर सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माको बहस र गजल बाचन हुने तालिका रहेको आयोजकले जनाएको छ । महोत्सवमा चित्रकला प्रतियोगिता पनि राखिएको छ । उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाद्वारा कलाकार कोमल निरौला , साहित्यकार राधेश्याम लेकाली र मूर्तिकार बिष्णुप्रसाद श्रेष्ठलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्