भद्रपुर, चैत १६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिनेगरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले लागूऔषध दुर्व्यसनलगायतका समाजमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्नेजस्ता विषयमा सुरक्षा निकाय निर्मम भएर लाग्नुपर्ने बताए । उनले जिल्लाका सुरक्षा निकायलाई भने, “गैरकानुनी प्रकृतिका कुनै पनि आदेशहरू अस्वीकार गर्नु तथा गल्ती गर्ने जुनसुकै दलको भए पनि नछोड्नु ।”

गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने ठाउँमा आइपुगेकाले देशमा जवाफदेहिताको प्रवर्द्धनमा सदैव ध्यान दिने पनि बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जिल्लाको सुरक्षा स्थिति र चुनौती एवं गरिएका प्रयासका विषयमा गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्