दमक,चैत १६ । किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा अवस्थित महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थलसंगै शालिक राख्ने कार्यमा भइरहेको अनर्गल प्रचारवाजीप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुवै संस्थाले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरी सिलौटीमा रहेको राष्ट्रिय विभूति महागुरुको समाधिस्थल तोडफोड नगरी आफ्नै जमिनमा शालिक राख्ने कार्यले त्यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्पष्ट पारेको छ ।
किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्मसम्बन्धी गलत प्रचार गरेकोमा आपत्ति जनाउँदै दुवै संस्थाले त्यस्तो धारणा सार्वजनिक गरेका हुन् । यसअघि बिहीवार मात्र दुवै संस्थाले इलाममा पत्रकार सम्मेलन गरी संस्थागत धारणा सार्वजनिक गरेका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले महागुरुसँग सम्बन्धित विषयलाई सत्य तथ्य तोडमोड गरि किरात धर्मावलम्बीहरुलाई भ्रमित बनाउने कार्य ठिक नभएको बताए । महागुरुको महान उद्देश्य विश्व शान्ति तथा मानव एकता कायम गर्नु नै भएको भन्दै उनले त्यसै कार्यअन्तर्गत हालसम्म देशैभरि १०२ वटा माङहिम , ३३ वटा महागुरुको शालिक स्थापना भइसकेको बताए । सिलौटीमा त्यसै अनुसार शालिक राख्ने कार्य भएकोमा त्यसो हुन नदिन कथित किरात धर्म सत्यहाङमा सेवा संघले अवरोध पुर्याएको उनको आरोप थियो ।

उनका अनुसार आफूहरुलाई शालिक राख्न सो समूहबाट अवरोध मात्र नभएर सशस्त्र प्रतिरोध गर्नेदेखि गुरु आत्मानन्दमाथि मुद्धा चलाउने सम्मका हर्कत भएको छ । उनले भने, –‘यो शोभनीय हँुदै होइन, यस्तो कार्यले सिंगो किरात धर्ममाथि चोट पुर्याएको छ ।’ उनले आफूहरुमाथि उल्टै अनर्गल मुद्धा लगाएर दुःख दिएपनि यसबारे प्रशासन गंभीर नभएको आरोप लगाए । यो विषयमा प्रशासनले तदारुकता देखाउनु पर्ने उनको माग छ ।

चोत्लुङका अध्यक्ष योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका कार्यवाहक अध्यक्ष प्रेमकुमार सिप्तुङखाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ‘इलामको चुलाचुली हात्तिलेदामा छुट्टै माङहिम बनाई आफ्नै डिजाइनमा गुरु खोज्ने र राख्ने क्रम सुरु गरिएको सो संस्थाको हैसियत हामीमाझ घामझै छर्लङ्ग छ । यसरी गुरु खोजेर राख्ने क्रममा ज्योतिनन्द, विद्यानन्द हुँदै फुङलिङ ज्योतिदेखि प्रभुदासी हुँदै ओमनन्दसम्म र मिनु कैलाशदेखि देउबहादुर तुम्बापोसम्मलाई गुरु बनाउने र हटाउने कार्य गरेको देखिन्छ । साथै केही गुरुको घोर अपमानसमेत गरेको विभिन्न घटना परिघटनाले समेत महागुरुको सच्चा अनुयायी हुनै नसक्ने पुष्टि हुन्छ ।’

पत्रकार सम्मेलनमा संघका कावा अध्यक्ष सिप्तुङखा, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय सचिव शक्तिकुमार साँवा, गुरु आत्मानन्द लिङ्देनका कानुनी सल्लाहकार भिम खत्रीलगायतले किरात धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थलमा शालिक राख्ने कार्यमा भएको भ्रम तथा हुलहुज्जतको आक्रमणले असुरक्षा पैदा गरेको उल्लेख गरेका थिए । उनीहरुले सामुदायिक वन,फाल्गुनन्द गाउँपालिका ,फिदिम नगरपालिकालगायतका सरोकारवाला पक्षहरुसंग सहकार्य गरि कार्य शुरु गरेको भएपनि सो समूहको उदण्ड हर्कतले शालिक तोडफोड , झण्डा च्यात्ने कार्यले सिंगो किरात धर्मावलम्बीहरुलाई चोट पुगेको उल्लेख गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्