चिन्तामणि दाहाल,
भद्रपुर । झापाको भद्रपुर ३ पृथ्वीनगरस्थित ऐतिहासिक तथा धार्मिकस्थल किचकबध क्षेत्रमा ५ वटा भवनका संरचना भएको पुष्टि भएको छ ।

देउनिया खोला किनारमा अवस्थित १० विगाह क्षेत्रफलको टिलानुमा स्थलमा साना ठुला गरी ५ वटा भवनका संरचना पाइएको पुरातत्वविद उद्धव आचार्यले बताए ।

सातौं पटकसम्मको उत्खनन्मा उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिण अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिमदक्षिण अर्को बहुतले भवन तथा यी ४ वटा भवनको दक्षिण करीब २ सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरु सुरक्षाकर्मी बस्ने दुई तले अर्को भवन गरी ५ वटा भवनका संरचना फेला परेका हुन् ।

यी संरचनाबाट धेरै पुरातात्विक सामग्री फेला परेको र तिनीहरुको कार्बन परीक्षण लगायतका परीक्षणबाट यो स्थल इसापूर्व शुंग–कुषाणकाल अर्थात १ सय २० देखि २०० इसापूर्वकोअर्थात आजभन्दा २२ सय बर्ष पुरानो पुष्टि भएको पुरातत्वविद आचार्यले बताए । यो स्थल गुप्तकाल अर्थात इसाको पाँचौं शताब्दिसम्म कायमै रहेको र यस क्षेत्रमा पाँचौ शताब्दिमा आएको शक्तिशाली भूकम्पले सबै ध्वस्त भएकोले खण्डहरमा परिणत भएको अनुमान फ्रेन्च भूगर्भविदसहितको एउटा टोलीले केही बर्षअघिको अध्ययन भ्रमणमा गरेको बताइएको छ ।


पुरातत्वविद आचार्यका अनुसार यस स्थलको मूल भवनको उत्खनन् अर्को साल पुरा हुने आशा गर्दै यस पटकको उत्खनन्मा यसभन्दा अझमुनि अझ अगाडिको कालको पुष्टि हुने संरचनाको संकेत पाइएको छ । यो संरचनाले भने यस स्थलको ऐतिहासिकता बुद्धकालभन्दा पनि अगाडि जानसक्ने संभावना रहेको पनि उनको भनाई छ ।

तर, उनले यसपटकको उत्खनन् गरिएको क्षेत्रमा रुखहरु भएकोले यी सबै रुख हटाउनु पर्ने, अहिले कायमै रहेको क्लबको हल हटाउनु पर्ने, पुरानो किचकवधको मूर्ति स्थानान्तरण गर्नु पर्ने, किचकबधस्थलभित्र सवारीसाधन छिर्न कडाईका साथ रोक्नु पर्ने र संरक्षित ऐतिहासिक संरचनाको पनि संरक्षण हुने पर्ने आवश्यकता औल्याएका छन् ।

२०५८ सालमा पहिलो पटक पुरातत्व विभागले यस स्थलको उत्खनन् पुरातत्वविद आचार्यकै नेतृत्वमा गराएको थियो । यो पटक सातौं उत्खनन् हो । यो उत्खनन् यही चैत १८ गतेसम्म मात्र गरिने र एक– दुई दिन यस क्षेत्रलाई प्लास्टिकले छोपेर त्यसमाथि माटोले पुर्न लाग्ने भएकोले अहिलेको उत्खनन् टोली चैत २४ भित्र फर्कने पुरातत्व अधिकृत नविन अधिकारीले बताए ।

यसअघि २०३५ सालमा मेची क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाइमा इतिहासका विद्यार्थीले उत्खनन् गरेका थिए । त्यसबेला पुराना माटाका भाँडा, ठूला आकारका लुम्बिनीमा पाइएका जस्ता चेप्टा ईटालगायतका पुरातात्विक सामग्री फेला परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्