सानालाई ऐन ठूलालाई चैन

झापा, चैत १८ ।

घटना नं १

बिर्तामोड ५ का मिगेन्द्र लिङ्देनले गत फागुन १४ गते आफ्नो ५० औं वैवाहिक वर्षगाँठ मनाए । धुमधामका साथ आफ्नै घरमा वर्षगाँठ मनाएका उनले प्रहरी प्रशासनकै अगाडि राति पटेकासहित ठूलो आवाजमा आतशवाजी गराए । इलाका प्रहरी कार्यालय बिर्तामोडका तत्कालीन डीएसपी सुरज कार्की रमिते भएर बसे । प्रतिबन्धित आतशवाजी गर्नका लागि रोक्ने प्रयास भएन, गरिसकेपछि पनि लिङ्देनसंग सोधपुछ गर्ने हिम्मतसमेत प्रहरी प्रशासनले गरेन ।

घटना नं २

गत फागुन २८ गते छैटौ झापा गोल्डकपको समापनका दिन बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा ठूलो तामझाम गरियो । विजेता टीम र खेलाडीलाई पुरस्कार वितरण गरिसकेपछि आतशवाजी गरेरै आयोजकहरुले हर्षोल्लास मनाए । प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, एन्फा अध्यक्ष पंकज नेम्वाङ, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, पूर्वअध्यक्षहरु जलकुमार गुरुङ, महेन्द्रकुमार गिरीसहितको उपस्थितिमा आतशवाजी भइरहँदा स्वयं उपस्थित रहेका सुरक्षा निकायका अधिकारीहरु मुकदर्शक भएर बसे ।

घटना नं ३

चैत १७ गते राति ११ः३० बजे दमकको नेपालीरिका होटलमा आतशवाजी गरेर आतंकित पार्ने काम भयो । सर्वसाधारणहरु आफ्ना काम सकेर सुत्न लागेको र कोही गहिरो निन्द्रामा परेको बेलामा ठूलो आवाजका साथ होटलमा आतशवाजी गरियो । होटलमा भब्य पार्टीको आयोजना गरिएको र पार्टीमा रमाउने क्रममा पटेका पड्काएका रहेछन् ।

दशैतिहार आउन लागेपछि प्रहरी प्रशासनले सार्वजनिक सूचना जारी गरेर पटेकालगायतका आतशवाजी वस्तु बेचबिखन र प्रयोग गरे कार्वाही गर्ने चेतावनी दिने गर्छ । जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरी पटेका पड्काउने वा बिक्री वितरण गरेको पाइएमा पक्राउ गरी कारवाही गर्ने चेतावनी दिने गरेको हो । ऐनअनुसार कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना र सामान्य प्रकारको विस्फोटक पदार्थ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी विस्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने र कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । ऐनमा यति व्यवस्था हुँदाहुँदै र सर्वसाधारणलाई कडिकडाउ गर्ने गरेको प्रहरी प्रशासनले पटेकाजस्ता आतशवाजी वस्तुको प्रयोग सार्वजनिक कार्यक्रममा भइरहँदा मुकदर्शक भएर बसिदिने गरेको छ । प्रहरी प्रशासनकै सामुन्ने ती आतशवाजी वस्तु पड्काउँदासमेत कानून कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सुरक्षा अधिकारीहरु अनदेखा गर्ने गरेको गुनासो व्याप्त छन् ।

नेपालमा पटेकाजन्य सामग्री ल्याउन, प्रयोग गर्न पूर्ण प्रतिबन्ध छ । तर यो अति प्रज्वलनशील चर्को आवाज दिने पटेका भारतबाट भित्र्याइदा प्रहरीबाट रोकटोक भएको पाईदैन । दमकमा शनिवार राति बम वा बन्दुक पड्केजस्तो ठूलो आवाज आएपछि भय र त्रास पैदा भएको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले सामाजिक सञ्जालमा लेखेका छन्,‘मध्यरातमा गृह प्रशासनलाई च्यालेन्ज, ठुला बडालाई कानुन नलाग्ने, दमक आज ठूलो दुर्घटनाबाट बच्यो । ’

दमकका युवा नेता राम पौड्यालले यस्तो कार्य गर्नेलाई कार्वाही गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ,‘मध्यरातमा एकदम त्रसित अवस्था भयो , के यसो गर्न छुट हो? प्रशासनले अनुसन्धान गरी फटाहालाई कार्वाही होस् ।’ प्रहरी प्रशासनले प्रतिबन्धित आतशवाजीलाई बेवास्ता गरेको कुरालाई झापाका प्रहरी प्रमुख मिलन केसीले अस्वीकार गरेका छन् । उनले संझाउँदा बुझाउँदा पनि आतशवाजी हुने गरेको स्वीकारे । झापा गोल्डकपको समापनमा आतशवाजी गर्ने कुरा आफूहरुलाई थाहा नभएको र गरिसकेपछि बोलाएर त्यसो नगरिदिएको भए हुन्थ्यो भनेर आयोजकलाई भनेको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय दमकले नेपालरिका होटलमा गरिएको आतशवाजीका सम्बन्धमा एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्