द्रोण अधिकारी,
भद्रपुर । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधको सातौं उत्खनन् पूरा भएको छ ।

भद्रपुर ३ पृथ्वीनगरस्थित देउनिया तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले सातौं पटक उत्खनन्को काम पूरा गरेको हो ।

२०५८ सालमा पहिलो पटक पुरातत्वविद उद्धव आचार्यको नेतृत्व टोलीले उत्खनन् गरेको थियो भने निरन्तर सातौं पटकसम्मको उत्खनन्को नेतृत्व पुरातत्व विभागका उनै आचार्यले गरेका छन् । केही वर्ष अगाडि पुरातत्व विभागबाट सेवानिवृत्त भएका आचार्यले यस पटक नयाँ अधिकृत नवराज अधिकारीसहितको टोली लिएर १७ दिनसम्म उत्खनन् गर्दा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष मात्र फेला परेको विज्ञ आचार्यको भनाइ छ ।

सातौं पटकसम्मको उत्खननमा आइपुग्दा उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिमदक्षिण अर्को बहुतले भवन र यी ४ वटा भवनको दक्षिणतिर २ सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको अर्को दुई तले भवन गरी ५ वटा भवनका संरचना फेला परेको विज्ञ आचार्यको भनाइ छ ।

आचार्यका अनुसार यसअघिका उत्खनन्बाट फेला परेका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको थियो । यस आधारमा किचकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको आचार्यले जानकारी दिए । पुरातत्वविद आचार्यका अनुसार भारतमा शुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुन सक्छ । पाँचौं शताव्दीसम्म अर्थात भारतको गुप्तकालसम्म कायम रहेको अनुमान छ । त्यस समयमा यस क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण यो स्थल ध्वस्त भएको हुन सक्ने फ्रेन्च भूगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यले सुनाए ।

यसपटकको उत्खनन् उत्तरपूर्वी कुनामा मन्दिर रहेको क्षेत्रमा भएको छ । उत्खनन् भएको क्षेत्रको पश्चिममा रहेको संरचना भत्काउनु पर्नेमा अहिलेसम्म भत्काइएको छैन । जसका कारण उत्खनन्को काम प्रभावित भइरहेको छ । दुई वटा मन्दिर हटाइएको क्षेत्रमा मात्र यस पटक उत्खनन् गरिएको छ । उत्खनन् भएको स्थानमा कतिपय वस्तु मन्दिर निर्माणका कारण नष्ट भएको देखिन्छ भने नयाँ वस्तु फेला पर्न सकेको छैन । एउटा दरबारको भग्नावशेष मात्र भेटिएको छ । यसअघि भेटिएका भवनकै आकारको भग्नावशेष नै यस पटकको उपलब्धी बनेको उत्खनन्मा सहभागी टोलीको भनाइ छ ।

आचार्यले उत्खनन् गरिएका संरक्षित स्थानमा मान्छेले टेकेर हिँडन नहुने बताए । यस स्थानमा मानिसको आवत जावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ । संरक्षण समितिले सुरक्षित राख्न सक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहने आचार्यको भनाइ छ ।

उत्खनन्का लागि सेवानिवृत्त विज्ञ आचार्यसित पुरातत्व विभागका अधिकृत नवराज अधिकारीले पहिलो पटक सहभागिता जनाएका छन् । चैत २ गतेबाट सुरु भएको उत्खनन् १८ गते समापन भएको छ भने उत्खनन् भएको क्षेत्र २५ गतेभित्र सुरक्षित गरेर टोली फर्कने कार्यतालिका रहेको आचार्यले जानकारी दिए ।

यसपटक पुरातत्वविद आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन् गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्