झापा,चैत १९ । झापाको बाह्रदशी ५ स्थित फूलबारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरू संगठित भएका छन् ।

शनिवार विद्यालय सभाहलमा भएको पूर्व विद्यार्थीहरुको भेलाले सोही विद्यालयका पूर्व विद्यार्थी, पहिलो एसएलसी ब्याच २०४३ का उत्पादन तथा हाल सोही विद्यालयका शिक्षक उत्तमकुमार खड्का अध्यक्ष रहेको ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिमा जीवनकुमार धमला उपाध्यक्ष, शिवप्रसाद पोखरेल सचिव, सुपेनचन्द्र सिंह राजवंशी सहसचिव, पवित्रा खड्का कार्की कोषाध्यक्ष रहेका छन् । त्यस्तै लक्ष्मीप्रसाद खरेल, रुक्मिणा गौतम, कमल राजवंशी, गीता धिताल, दिनेश थापा र हरि उप्रेती तदर्थ समितिका सदस्य रहेका छन् ।

पूर्व विद्यार्थी तथा सोही विद्यालयमा लामो सेवा गरी निवृत्त शिक्षक टेकनारायणसिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षक चन्द्र थपलिया, बाह्रदशी वडा नं. ५ का वडाध्यक्ष तथा पूर्व विद्यार्थी वीरबहादुर राजवंशी , पूर्व विद्यार्थी रुक्मिणा गौतमले शुभकामना मन्तव्य राखेका थिए। शिव पोखरेल र तुलसीराम खरेलले संचालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य भोजराज दाहालले गरेका थिए।

पूर्व विद्यार्थी सुभद्रा दाहालले आफूआवद्ध संस्था लायन्स क्लव अफ काठमाडौंमार्फत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेर कार्यक्रमलाई थप सौन्दर्यता प्रदान गरेकी थिइन् ।
भोजराज दाहाल संयोजक, तुलसीराम खरेल, ओमप्रकाश गौतम, वीरबहादुर राजवंशी र सुपेनचन्द्र सिंह राजवंशी सदस्य रहेको निर्वाचन समितिले तदर्थ समिति गठनको संयोजन गरेको थियो। नवनिर्वाचित समितिले आगामी ६ महिनाभित्र बिधान निर्माण, छलफल गरी संस्था दर्ता र अधिवेशन गर्नुपर्ने छ। संस्था पूर्ण स्वायत्त हुने र उक्त संस्थाले गर्ने सबै काम विद्यालयलाई केन्द्रमा राखेर गर्नुपर्ने नवनिर्वाचित सदस्य दिनेश थापाले बताए।

२००७ सालमा स्थापना भएको फूलवारी माविको अवस्था हाल दयनीय देखिन्छ। दिन प्रतिदिन विद्यार्थीको संख्या घट्दै गएको विद्यालयले शैक्षिक र भौतिक रुपमा फड्को मार्न ढिलो भैसकेको धेरैले महसुस गरेका छन्। अब पूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा लाग्नुपर्ने कुरा शिक्षक घनश्याम उप्रेतीले बताए। आफ्नो प्रतिबद्धता जनाउँदै नवनिर्वाचित अध्यक्ष खड्काले देश बिदेशमा रहेका पूर्व विद्यार्थीसँग समन्वय गर्नेगरी कार्यक्रम अगाडि बढाईने बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्