बिर्तामोड, चैत १९। बिर्तामोड १० स्थित महेन्द्र ज्योति माविको खेलमैदानमा जारी चौथो वडा अध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिताको चौथो दिन भएको खेलमा सैनिक बजार + भूपू सैनिक संयुक्त टोल विजयी भएको छ ।

सोमबार भएको खेलमा विजयी टिमले जर्मन डाँडा + सापडीग्री संयुक्त टोललाई ४ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातदेखि नै दुवै टिमका खेलाडीले पटक पटक गोल गर्ने मौका पाएपनि गोल गर्न सकेनन् । तर खेलको पहिलो हाफको २८ औं मिनेटमा सैनिक बजार + भूपू सैनिक टोलका तर्फबाट जर्सी नं. ११ का उत्सब राईको पासमा जर्सी नं.२८ का सुजन लिम्बूले गोल गरेर टिमलाई अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको १२ औं मिनेटमा सैनिक + भूपू सैनिक टोलका जर्सी नं ८ का दुर्लभ तिवारीले डिबक्स एरियाबाट पाएको मौकालाई गोलमा परिणत गर्दै टिमलाई २ गोलले अग्रता दिलाए ।
त्यस्तै दोस्रो हाफको १९ औं मिनेटमा पुनः डिबक्स एरियाबाट जर्मन डाँडा + सापडीग्रीका खेलाडीको पासलाई विफल बनाउँदै उत्सब राईले अर्को गोल गरेका थिए ।

त्यस्तै ३८ औं मिनेटमा जर्सी नं १७ का सौरभ लिम्बूले थप एक गोल गर्दै टिमको जित सुनिश्चित गर्न सफल भएका थिए ।
विपक्षी जर्मन डाँडा + सापडीग्रीको टिमले पटक पटक पाएको गोल गर्ने मौकालाई सैनिक बजार + भूपू सैनिक टोलका खेलाडीले रोकेका थिए ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नं १७ का सौरभ लिम्बू घोषित भए । उनलाई कार्यक्रमका विशिष्ट अतिथि खेलकुदप्रेमी तथा समाजसेवी युवा व्यवसायी श्याम प्रसाईले पुरस्कार प्रदान गरे ।

बिर्तामोड वडा १० खेलकुद विकास समितिका अध्यक्ष सुरेन् तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड वडा नं ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, वडा नं. ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा ,बिर्तामोड १० का वडा सचिव दुर्गा अधिकारी ,वडा सदस्य धनकुमारी श्रेष्ठ ,खेलकुदप्रेमी तथा युवा व्यवसायी श्याम प्रसाई ,सैनिक बजार टोल विकास संस्थाका अध्यक्ष ख्यामराज राई,मधुपोखरी टोल विकास संस्थाका अध्यक्ष तुलसीप्रसाद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

मंगलबार हुने क्वाटरफाइनल खेलमा नमुना टोलविरुद्ध मधुपोखरी + कुँवापानी + पत्थरभिट्टा + लक्ष्मी नारायण संयुक्त टोलले प्रतिष्पर्धा गर्ने आयोजक वडा खेलकुद विकास समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद रु ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता रु २१ हजार प्राप्त गर्नुका साथै दुवै टिमलाई मेडल, ट्रफी र सम्मानपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले रु.१हजार साथै प्रतियोगिताभरिकै उत्कृष्ट गोलरक्षक,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट फरवार्डले नगद रु. २ हजारका दरले प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडी, राईजिङ प्लेयर र उत्कृष्ट टिम कोचले समेत नगद रु. २ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्