शिवसताक्षी, चैत २२ । झापा शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिवसताक्षी ४ जनतास्थित वडा कार्यालयमा संचालित शिविरमा शिवसताक्षीका दक्षिणी क्षेत्रका ४१५ जनाले सेवा लिएका छन् । जसमा मोतिया विन्दु भएका १६ जनालाई निःशुल्क अपरेशनका लागि मेची आँखा अस्पताल लगिने आदर्श बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

शिवसताक्षी वडा नं. ४, ५, ६ का बासिन्दालाई लक्षित गरी शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक प्रकाश पोख्रेलले जनाकारी दिए । मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा निःशुल्क औषधि तथा १४७ जनलाई चस्मा वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले शिविरबाट भरपूर सेवा लिन नागरिकलाई आग्रह गरे । शिवसताक्षीका दक्षिणी क्षेत्रमा बढीजसो आदिबासी समुदाय बसोबास गर्ने भएकाले दक्षिणी क्षेत्रमा शिविर आयोजना गरिएको उनले बताए । शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाईले आदिबासी समुदायका नागरिकहरु आँखा नदेख्ने अवस्थामा पुगेपछि मात्र उपचारका लागि जाने गरेको बताए । स्थानीय स्तरमै शिविरको आयोजना गर्दा त्यसको प्रभावकारिता बढी हुने उनको भनाई थियो ।

शिविरमा शिवसताक्षी नगरपालिकाका लेखा प्रमुख प्रकाश योङहाङ, कार्यपालिका सदस्य यशोदा विमलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्